बढ्दो माग पूरा गर्न नेपालमा हरेक महिना करिब २ अर्ब रुपैयाँ बराबरका मोबाइल सेट भित्रने गरेका छन् । भन्सार विभागले निकालेको पछिल्लो विवरणअनुसार मोबाइल सेटको आयात बढेको देखिएको हो । माग वृद्धिसँगै मोबाइल फोन नेपालमा आयात हुने मुख्य वस्तुमा पर्न थालेको छ । चालु आर्थिक वर्ष पहिलो सात महिनाको तथ्यांकलाई आधार मान्दा मोबाइल सेट डिजेल/पेट्रोल, आइरन स्टिल, अटोमोबाइल र धानचामलपछि सबैभन्दा धेरै आयात हुने वस्तुमा पर्छ ।
गत साउनदेखि माघसम्मको आयातलाई मासिकमा रूपान्तरण गर्दा हरेक महिना नेपालमा विभिन्न मुलुकबाट १ अर्ब ९७ करोड ९८ लाख २२ रुपैयाँ बराबरका मोबाइल सेट आयत हुने गरेका छन् । तथ्यांकअनुसार नेपालमा अहिले हरेक महिना औसतमा ५ लाख १६ हजार २ सय ८५ वटा मोबाइल सेट आयात भएको देखिन्छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत कात्तिकसम्ममा नेपालमा विभिन्न कम्पनीका ४ हजारभन्दा बढी मोबाइल सेटका ब्रान्डले बिक्री वितरण गर्ने अनुमति पाइसकेका छन् । मोबाइल सेट बिक्री गर्नुपूर्व प्राधिकरणबाट उपकरण दर्ता गराई अनुमति लिनुपर्छ । यसलाई ‘टाइप एप्रुभल’ भनिन्छ । गत कात्तिकसम्ममा प्राधिकरणबाट ४ हजार ३ सय ९३ ब्रान्डका उपकरणले अनुमति लिइसकेका छन् । त्यसमध्ये अधिकांश मोबाइल सेटहरू रहेका छन् ।
नेपालमा सबैभन्दा धेरै मोबाइल सेट चीनबाट आयात हुने गरेको छ । चीनपछि भियतनाम, भारत, हङकङ, स्विटजरल्यान्ड, ताइवान, अमेरिका, बेलायतलगायतका मुलुक पर्छन् । चालु वर्षको पहिलो सात महिनामा विभिन्न २८ मुलुकबाट ३६ लाख १३ हजार ९ सय ९८ मोबाइल सेट आयात भएको देखिन्छ । त्यसमध्ये सबैभन्दा धेरै ३१ लाख २६ हजार सेट चीनबाट मात्र भएका छन् । चीनबाट मात्रै १० अर्बभन्दा बढी मूल्यका मोबाइल आयात भएका छन् । बाँकी अन्य मुलुकबाट भएको आयात हो ।
चीनमा बहुराष्ट्रिय ब्रान्डका मोबाइल सेटसमेत उत्पादन हुने भएकाले त्यहीँबाट नेपालमा निर्यात हुने गर्छ । पछिल्लो समय भारतीय ब्रान्डका मोबाइलको उपस्थिति बढेको भए पनि तिनको उत्पादन भने चीनमै हुँदा उतैबाट आयात भइरहेको छ । सामसङ, एप्पलजस्ता ब्रान्डबाहेक कलर्स, कार्बन, माइक्रोम्याक्सजस्ता भारतीय तथा जियोनी, एमआई, ओप्पोलगायतका चिनियाँ ब्रान्डका सेट पनि लोकप्रिय हुँदै गएका छन् ।
प्राधिकरणका अनुसार नेपालमा मोबाइल सिमकार्डको बिक्री जनसंख्याभन्दा बढी भइसकेको छ । अहिले नेपालको मोबाइल टेलिघनत्व १ सय १८ पुगेको छ । यसले हरेक १ सयजना नेपालीको भागमा १ सय १८ सिमकार्ड पर्ने देखाउँछ । एउटै ग्राहकले धेरै कम्पनीका सिमकार्ड बोकेकाले जनसंख्याभन्दा बढी सिमकार्ड बिक्री भएको देखिएको हो । सिमकार्डको बिक्रीसँगै नयाँ मोडलका स्मार्टफोन आउने बित्तिकै पुरानो परिवर्तन गर्ने क्रम बढेकाले पनि सेटको आयात वृद्धि भएको हो।
गत आर्थिक वर्षको पहिलो सात महिनाकै तथ्यांकलाई आधार मान्दा नेपालमा त्यस वर्ष हरेक महिना करिब डेढ अर्ब रुपैयाँका मोबाइल सेट आयात हुन्थे । गत वर्ष हरेक महिना औसतमा ४ लाख ३२ हजार सेट आयात भएको देखिन्छ । त्यसभन्दा अघिल्लो वर्ष भने मासिक औसतमा ३ लाख ३५ हजार मोबाइल सेट मात्र आयत भएको देखिन्छ । कान्तिपुरमा खबर छ ।

