नेपालबाट बालबालिका हराउने क्रम घटेन

काठमाडौं, ६ असार–बालबालिका हराउने क्रम वर्षेनी बढ्दै गइरहेको सरकारी तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७३/०७४ को पहिलो ११ महिनामा देशभर २ हजार ५ सय ६५ बालबालिका सम्पर्कविहीन भएका छन् । यो अघिल्लो बर्षको तुलनामा १ हजार ६२ ले बढी हो ।

यसबर्ष हराएका बालबालीकामध्ये ९ सय ६८ बालक र १ हजार ५ सय ९७ बालिका रहेको बालबालिका खोजतलास समन्वय केन्द्रले जनाएको छ ।  काठमाडौं उपत्यकामा मात्रै २ सय ८३ बालबालिका परिवार तथा आफन्तको सम्पर्क बाहिर छन् । क्षेत्रगत हिसाबले सबैभन्दा बढी मध्यमाञ्चल र सबैभन्दा कम सुदुरपश्चिमाञ्चलबाट बालबालिका हराएको केन्द्रको तथ्यांकले देखाएको छ ।

हराएका मध्ये ५ सय ७० जना बालबालिका मात्रै फेला परेको केन्द्रका प्रहरी नायब उपरिक्षक विश्वराज खड्काले बताउनुभयो । फेला परेका बालिबालिका मध्ये २ सय ७२ जनालाई पारिवारिक पुर्नमिलन गरिएको छ भने १ सय ६० जनालाई संरक्षण गृहमा राखिएको खड्काले जानकारी दिनुभयो ।

६ सय बालक र ९ सय २ बालिका गरी १ हजार ५ सय २ बालबालिका गतवर्ष सम्पर्कविहीन भएका थिए । विशेषगरी काभ्रे, दोलखा, जाजरकोट, हुम्ला जुम्ला लगायत जिल्लाबाट भागेर बालबालीकाहरु काठमाण्डौ आउने केन्द्रले जनाएको छ । तराई भेगबाट हराएका बालबालिकाहरु भने भारत पुग्ने गरेको केन्द्रका अधिकृत सन्तोषचन्द्र अधिकारीले बताउनुभयो ।

परिवारको हेलचक्र्याई तथा गरिबीका कारण हराउने बालबालिकाको संख्या वर्षेनी बढ्दै गएको अधिकारीको भनाई छ । प्रत्येक हप्ता देशभरबाट करिब ३० देखि ३५ बालबालिका हराएको निवेदन केन्द्रमा आउने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here