नेपालगन्जमा छाडा पशुचौपाया ब्यवस्थापन गर्न सर्वपक्षीय बैठक सम्पन्न

  • प्रकाशित मिति :   २३श्रावण बिहिबार १:१०

नेपालगञ्जमा छाडा पशु चौपाया ब्यवस्थापनका लागि पहलकदमी बढाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा बुधबार सर्वपक्षीय बैठकले छाडा पशु चौपायको ब्यवस्थापनका लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाउनु पर्ने सहमति गरेको छ ।

नेपालगञ्जमा निर्माणाधिन काञ्जीहाउसको थप ब्यवस्थापन गर्ने, यहाँका पशु चौपायलाई अन्यत्र जिल्लाका गौशालामा पठाउने र बाँकेमा ठुलो क्षमताको गौशाला निर्माण गर्नुपर्ने बैठकमा सहमति भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले काञ्जिहाउस थप ब्यवस्थित गरि पशुको आहारलगायत अन्य सहयोगका लागि सार्वजनिक सहयोगको अपिल गर्ने निर्णय गरेको छ ।

यसैगरी काञ्जिहाउसमा रहेका पशुहरुलाई पालनपोषण र गौशालाका लागि निशुल्क उपलब्ध गराउने निर्णय बैठकले गरेको छ । जनावरको तथ्यांक संकलन गरि ट्याग लगाउने र सबै स्थानीय तहले बृहद गौशाला निर्माणका लागि जिल्ला सभा बोलाउन बैठकले जिल्ला समन्वय समितिमा आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकमा मेयर राणाले भारत र ग्रामिण क्षेत्रबाट आउने पशु चौपाय नेपालगञ्जको विकराल समस्या बनेको बताए । दुई सयसम्मको क्षमता रहेको निर्माणाधिन काञ्जीहाउसमा ६०० वटा पशु राख्दासमेत नगरभित्र समस्या समाधान हुन नसकेको उनले बताए । प्रमुख प्रशसकीय अधिकृत हरी प्याकुरेलले छाडा पशु चौपाय ब्यवस्थापनका लागि उपमहानगरपालिका प्रयासरत रहेको उल्लेख गर्दै काञ्जिहाउसमा पशुका लागि आहार र औषधीउपचारको ब्यवस्था गरिएको जानकारी दिए ।

बैठकमा जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वली, नेपाली सेनाको भैरवप्रसाद गणका प्रमुख सेनानी नकुल थापा, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, नागरिक समाजका अगुवालगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here