काठमाडौं, २३ बैशाख- परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारतको नयाँ दिल्लीस्थित नेपालका लागि विभिन्न देशका गैरआवासीय राजदूतहरुलाई नेपालको सुन्दरता र प्रचूर सम्भावनाबारे थप अध्ययन गर्न आग्रह गर्नुभएको छ ।
नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूतहरुको दुईदिने सम्मेलनलाई हिजो बेलुका नयाँ दिल्लीमा सम्बोधन गर्दै उहाँले नेपालमा ओहदाको प्रमाणपत्र पेस गरेर मात्र फर्किने नगरी नेपालमा पनि बस्न र त्यहाँको सुन्दरता र सम्भावनाका बारेमा बुझ्न आग्रह गर्नुभएको हो ।
मन्त्री महतले नेपाल शान्ति र समृद्धिको मार्गमा अघि बढिसकेकाले सुरक्षित लगानीका लागि सबैसँग आग्रह गर्नुभयो। उहाँले नेपालमा लगानीका कैयौं क्षेत्र र सम्भावना रहेकोले त्यसबाट लाभान्वित हुन नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरिएको बताउनुभयो ।
नेपालले पहिलो पटक गर्न लागेको सम्मेलनमा नेपालको आर्थिक कूटनीतिअन्तर्गत आर्थिक विकास, परराष्ट्र सम्बन्ध, व्यापार तथा लगानी प्रवद्र्धन, पर्यटनलगायत विषयमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदाश बैरागीसहित यस क्षेत्रका नेपाल र भारतका विज्ञहरुको प्रस्तुति रहने छ ।
सम्मेलनमा नेपाल हेर्ने नयाँ दिल्लीस्थित विश्वका ७० भन्दा बढी देशका राजदूतहरुको सहभागिता छ । गत बुधबार सिगांपुर हुँदै भारत पुग्नुभएका मन्त्री महत आज स्वदेश फर्कनुहनेछ ।

