काठमाडौँ, १८ असार- सरकारले नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण सहयोग उपलब्ध गराउन जापान सरकारलाई आग्रह गरेको छ ।
ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री वर्षमान पुनसँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले गर्नुभएको भेटवार्तामा सो आग्रह गरिएको हो ।
सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री पुनले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सरकार लागिपरेकाले सहयोगका लागि जापानी राजदूतलाई आग्रह गर्नुभएको हो ।
मन्त्री पुनले भन्नुभयो, “हामीले ऊर्जा र जलविद्युत्को क्षेत्रमा निकै महत्वकांक्षी लक्ष्य राखेर अघि बढेका छौँ, यसमा जापानबाट हामीले ऋण, सहयोग र लगानीको अपेक्षा गरेका छौँ ।”
उहाँले जापानको निजी क्षेत्रलाई पनि नेपालको जलविद्युत् क्षेत्रमा लगानीका लागि वातावरण बनाइदिनसमेत राजदूत साइगोसँग आग्रह गर्नुभयो । मन्त्री पुनले जापान नेपालको पुरानो र भरपर्दो विकास साझेदार मुलुक भएको भन्दै आगामी दिनमा समेत नेपालको विकासमा जापानको सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।
भेटमा जापानी राजदूत साइगोले नेपाल र जापानको सम्बन्ध विगतदेखि सुमधुर रहेको भन्दै आगामी दिनमा समेत दुई देशको सम्बन्ध अझ मजबुत बन्ने धारणा राख्नुभयो ।

