काठमाडौँ, १० फागुन- नेपालको ऊर्जा क्षेत्रको विकासका लागि लगानी नभई सोचको मात्रै समस्या रहेको त्यस क्षेत्रका जानकार तथा सरोकार भएका व्यक्तिले जोड दिनुभएको छ । बारबरा फाउण्डेशनले आज यहाँ आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा सहभागी वक्ताले नीतिगत जटिलता हटाएर लगानीमैत्री वातावरण मात्रै बनाउने हो भने स्वदेशी लगानीमा नै ठूलो परिमाणमा जलविद्युत्को विकास गर्न सकिने बताउनुभयो । नेपालमा रहेका बैंक तथा वित्तीय संस्था नै ठूला परियोजना निर्माण गर्न सक्ने अवस्थामा पुगेको तथा गतिलो प्रतिफलको सुनिश्चितता गर्ने हो भने नागरिकले पनि ठूलो मात्रामा लगानी गर्न सक्ने स्थिति रहेको बताउँदै उहाँहरुले सरकारले प्राथमिकताक्रम निर्धारण गर्नुपर्ने धारणा राख्नुभयो र
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलेस्वदेशी संस्थामा नै ठूलो मात्रामा लगानीयोग्य रकम छ, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष जस्ता संगठित संस्थामा पनि लगानीयोग्य रकम छ, नागरिकलाई विश्वास दिलाउन सके केही परियोजनाका लागि उनीहरुले नै रकम जुटाउन सक्छन् भन्नुभयो ।
स्वदेशी तथा विदेशी लगानी भित्र्याएर एकाध वर्षमा नेपालको जलविद्युत् क्षेत्रमा कायापलट गर्न सकिने उहाँको भनाइ छ । “गत वर्ष नेपालमा विद्युत्भार कटौती गर्दा त्यो सम्भव नरहेको भन्नेहरु थिए, तर हामीले सफल पारेर देखायौँ । नसकिने भन्ने हुँदैन, लगानी पनि भित्र्याउन सकिन्छ । मात्रै सोच र नीतिगत रुपमा प्रष्टताको जरुरी छ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले ऊर्जा सुरक्षाका लागि पनि वैकल्पिक ऊर्जालाई पनि विशेष जोड दिइनुपर्ने तथा ग्रामीण क्षेत्रका सबै स्थानमा प्रसारण लाइन निर्माण गर्न समस्या हुने भएकाले सौर्य परियोजना र वायु ऊर्जामा समेत लगानी गर्नुपर्ने बताउनुभयो ।

