काठमाडौं, २३ साउन– संसदको राज्य व्यवस्था समितिमा प्रदेश सभा सदस्य निर्वाचन सम्वन्धी विधेयक २०७४ माथीको सैद्वान्तिक छलफल सकिएको छ ।
हिजो र आज सिंहदरबारमा बसेको बैठकमा संसोधन दर्ता गराएका सांसदसँग समितिले छलफल गरेको हो । सांसदले ३५ वटा विषयमा दुई सय ५९ वटा संसोधन दर्ता गराएका थिए ।
संसोधन दर्ता गराएका सांसदले सो विधेयकमाथीको सैद्वान्तिक छलफलका क्रममा प्रदेश सभा सदस्य निर्वाचनमा महिलाको सहभागिता बढाउने गरी ऐन बनाउनुपर्ने बताएका छन् । यस्तै बराबरी मत ल्याएका उम्मेदवारलाई गोलाप्रथाबाट विजयी गराउँदा जनमतको अवमूल्यन हुने भन्दै वर्णानुक्रमका आधारमा बराबरी समय कार्यकाल सम्हाल्ने अवसर दिनेगरी ऐन बनाउनुपर्ने उनीहरुको धारणा थियो ।
विधेयकमाथीको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिंदै गृहमन्त्री जनार्दन शर्माले निर्वाचनको मिति तोक्ने विषयमा यसअघि पनि निर्वाचन आयोगसँग समन्वय भइरहेको भन्दै अब पनि आयोगसँगको समन्वयनमा नै मिति तोकिने बताउनुभयो।
आयोगको भूमिकालाई मजवुद बनाउन सरोकारवालासँग छलफल गरेर अघि बढ्न सरकार तयार रहेको उहाँको भनाई थियो । मन्त्री शर्माले निर्वाचनको खर्च कटौती गर्ने विषयमा निर्वाचन आयोगले सार्वजनिक गर्ने आचारसंहिता अनुसार नै हुने बताउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनको खर्च कटौती गर्न अहिलेको निर्वाचन प्रणाली नै परिवर्तन गरी पुर्ण समानुपातिक प्रणाली अवलम्वन गर्नुपर्ने बताउनुभयो । यस्तै सरकारले नै पहल गरेर अथवा निर्वाचन आयोगले जारी गर्ने निर्वाचन आचार संहिता अक्षरस: पालना गरेपनि खर्च कटौति गर्न सकिने बताउनुभयो ।
विदेशमा रहेका नेपालीले मतदान गर्ने विषयमा कार्यविधी बनाउनुपर्ने प्रमुख आयुक्त यादवको भनाई थियो । दफावार छलफल गर्ने विषयमा छलफलका लागि पर्सी बुधबार विहान ११ बजे अर्को बैठक बोलाइएको समिति सभापति दिलबहादुर घर्तीले जानकारी दिनुभयो ।

