काठमाडौं,७ फागुन । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आवधिक निर्वाचनलाई अझै स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन सञ्चालन कार्यतालिकाको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
उहाँले निर्वाचन सम्पन्न गराउने कामलाई अझै व्यवस्थित बनाउने गरी निर्वाचनको लागि आवश्यक कानुन, ऐन र प्रविधिमा सुधार ल्याउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
तेस्रो निर्वाचन दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विदेशमा रहेका मतदाताहरुलाई मतदान गर्ने उचित व्यवस्था गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो । उहाँले निर्वाचन सञ्चालन कार्यतालिकाको व्यवस्था गर्न सरकार गम्भीर भएर लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
निर्वाचन आयोगले २०१५ साल फागुन ७ गते नेपालमा पहिलो पटक आम निर्वाचन भएको दिनको स्मरण गर्दै ३ वर्षयता निर्वाचन दिवस कार्यक्रम आयोजना गर्दै आएको छ ।

