निर्वाचन आयोग र सरकारको गतिविधिप्रति नेता नेम्वाङको आपत्ति

काठमाडाैं, १७ पुस – पूर्वसभामुख तथा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन आयोग र सरकारको गतिविधिप्रति आपत्ती जनाउनुभएको छ ।

जनमत प्राप्त भइसकेपछि पनि त्यसलाई औपचारिक रुपमा राष्ट्रप्रमुखसमक्ष पेस गर्न आयोगले गरेको ढिलाइ आफूहरुले बुझ्न नसकेको उहाँको भनाइ छ । गृहजिल्ला इलामबाट राजधानी फर्कने क्रममा आज दमकमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आफूहरुले प्रमुख निर्वाचन आयुक्तलाई यसबारे भेटेर ध्यानाकर्षण पनि गराइएको बताउनुभयो ।

पुष ५ गतेको भेटमा प्रमुख आयुक्तले केही दिन भित्रमा नै निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष बुझाउने बताए पनि अहिले सम्मको ढिलाइ केले भएको हो भन्नेमा आफूहरु अनविज्ञ रहेको धारणा राख्नुभयो । यस्तै, जनमत प्राप्तिपछि सरकारले विजयीहरुलाई बधाई दिँदै नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नुपर्ने भन्दै उहाँले राष्ट्रिय सभा अध्यादेश वा राष्ट्रिय सभा गठनको कारण देखाउँदै सत्ता लम्ब्याएको आरोप लगाउनुभयो ।

लोकतान्त्रिक विधि र प्रक्रियामा यो सही नभएको भन्दै उहाँले कामचलाउ बनेको सरकारले आर्थिक सहायता वितरण, नियुक्ति, सरुवा, बढुवा लगायतका काम गर्नु पनि नैतिकताविपरीत भएको उहाँको तर्क छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here