निर्वाचन आयोगले प्रधानमन्त्री सामु यस्तो प्रस्ताव राख्यो !

काठमाडौँ, १७ असार – निर्वाचन आयोगले प्रदेशसभाको निर्वाचन आगामी असोज अन्तिम साता र प्रतिनिधिसभाको निर्वाचन मङ्सिरको पहिलो सातामा गर्ने तयारी थालेको छ ।
आयोगले आगामी कात्तिक दोस्रो हप्तामा राष्ट्रियसभाको निर्वाचन गर्ने तयारी सुरु गरेको छ । निर्वाचन आयोगका पदाधिकारीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई सिंहदरबारमा भेटी निर्वाचनको उक्त कार्ययोजना प्रस्तुत गरेको भेटपछि प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले जानकारी गराउनुभयो ।
डा यादवको नेतृत्वमा आयुक्त नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल, सुधीरकुमार शाह, आयोगका निमित्त सचिव महेश्वर न्यौपानेसहितको टोलीले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि आवश्यक कानुन यही असार मसान्तसम्ममा पारित गर्नुपर्ने आग्रह गरेको थियो ।

नेपालको संविधानअनुसार आगामी माघ ७ गतेभित्र स्थानीय, प्रदेश र सङ्घ गरी तीनै तहको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता छ । भेटमा आयोगका तर्फबाट समयावधि कम भएको हुँदा मतदाता नामावलीसम्बन्धी ऐनमा समेत केही परिमार्जनको आवश्यकता रहेको प्रधानमन्त्रीलाई अवगत गराइएको थियो ।
आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको क्षेत्र निर्धारणका लागि साउन १५ गतेसम्म आवश्यक कार्य गरिसक्नुपर्ने सुझाव दिएको छ । आवश्यक कानुन प्राप्त भएपछि आयोग असोज अन्तिम साता प्रदेशसभाको र मङ्सिर पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गराउन प्रतिबद्ध रहेको प्रमुख आयुक्त डा यादवले बताउनुभयो । आजको कान्तिपुरमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here