काठमाडौं,६ मंसिर– निर्वाचन आयोगले आसन्न प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम मतदातालाई अपिल गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले केही ठाउँमा देखिएको सुरक्षा चुनौति पनि सम्बोधन भईसकेको उल्लेख गर्दै अव ढुक्क भएर मतदानमा भाग लिन आम मतदातालाई अपिल गर्नु भएको हो ।
आईतबार पहिलो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनबारे संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले आम मतदाता डर, भय र त्रासमुक्त भएर मतदानमा भाग लिन आतुर देखिएको पनि बताउनु भयो । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनका लागि सुरक्षाको पूर्ण प्रत्याभूति भईसकेको पनि उल्लेख गर्नु भयो ।
प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न संचार माध्यामको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले निर्वाचन संघीयता, गणतन्त्रसहितको उपलब्धिलाई संस्थागत गर्ने आधारशीला भएकाले त्यसलाई सफल बनाउन संचारमाध्यमले सन्तुलित भूमिका खेल्नुपर्नेमा पनि जोड दिनु भयो ।
निर्वाचन आयोगले पहिलो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भईसकेको पनि स्पष्ट पारेको छ ।

