काठमाडौं, १८ जेठ–बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री बन्ने प्रयासमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले दोस्रो चरणको निर्वाचनअघि नै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेका छन् ।
‘दोस्रो चरणको निर्वाचनसम्म सानो मन्त्रिपरिषद् मात्रै बनाउने चाहना शेरबहादुरजीको छ,’ कांग्रेस नेता उपप्रधानमन्त्री विमलेन्द्र निधिले भने, ‘कति सानो बनाउने भन्ने छलफल भइसकेको छैन । आज छलफल हुने छ ।
राप्रपा सरकारमा सहभागी हुन सकारात्मक
अहिले सत्तागठबन्धनमा नरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्न सकारात्मक छ । देउवाले मंगलबार बोलाएको सर्वदलीय बैठकमा राप्रपा अध्यक्ष कमल थापाले भनेका थिए, ‘कांग्रेसको नेतृत्वमा बहुमतीय सरकार बन्ने हो भने दुई दलबीच नीतिगत विषय र व्यावहारिक विषयमा छलफल हुँदा सहमति हुन सक्यो भने त्यो सरकारमा जाने विषयमा हाम्रो सकारात्मक धारणा रहन्छ ।’ संसद्मा राप्रपाको ३७ सिट छ । यो संख्या पनि जोडियो भने देउवाको पक्षमा ३४८ मत पुग्छ ।

