निर्देशक गोपाल खडकालाई बर्खास्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजादै, के होला खडकाको अबस्था ?

काठमाडौं, २ असोज– आपूर्ति मन्त्री शिवकुमार मण्डलले आयल निगमका कार्याकारी निर्देशक गोपाल खडकालाई बर्खास्त गर्न तयारी भएको बताएका छन् ।

उनले इन्धन भण्डारणका लागि चाहिने जग्गा खरिदको क्रममा खडकाले अनियमितता गरेको ठहर भइसकेको उल्लेख गर्दै बर्खास्तीका लागि सोमबार बस्ने मन्त्रिपरिषदको बैठकमा प्रस्ताव गर्ने जानकारी दिए । ‘जग्गा प्राप्ति ऐन हँुदाहँुदै  टेण्डरमार्फत खरिद गरिएको छ ।

स्थलगत अध्ययनका क्रममा सस्तो जग्गालाई तीन/चार गुणा मुल्य तिरेको देखिन्छ,’ मण्डलले भने, ‘सबैको चर्चाको बिषय बनेकाले खडकालाई बर्खास्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्ने निर्णय गरेको छु ।’ उनका अनुसार सरकारी निकायले जग्गा प्राप्ति ऐनअनुसार जग्गा खरिदका लागि टेन्डर हुँदैन ।

टेन्डरमार्फत जग्गा खरिद प्रक्रियामा त्रुटि भएको मन्त्री मण्डलले बताए । उनका अनुसार जग्गा प्राप्ति ऐनअनुसार जग्गा खरिद गर्दा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा कमिटी गठन हुन्छ ।

प्राविधिकले उपयुक्त जग्गा अध्ययन/विश्लेषण गर्छन् । त्यसपछि सरकारलाई जग्गा उपलब्ध गराइदिन पत्राचार गर्छ । सरकारले जग्गावालहरूलाई उचित मुआब्जा दिएर जग्गा अधिग्रहण गरेर निगमलाई दिन्थ्यो । ‘जग्गा प्राप्ति ऐनको प्रक्रिया पुर्‍याएर जग्गा लिएको भए बिबाद आउने थिएन,’ उनले भने ।

ससदीय समितिको प्रतिबेदनमा पनि अनियमितता भएको ठहर गरेकाले निलम्बनको सट्टा बर्खास्त गर्ने योजना बनाएको उनले बताए ।  साताअघि संसदीय समितिले आयल निगमको जग्गा खरिद प्रकरणमा अनियमितता भएको ठहर गर्दै सञ्चालक समिति र खडकासहितका जिम्मेवार अधिकारीलाई कारबाही सिफारिस गरेको छ ।

संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले आफूमातहत गठित आपूर्ति तथा उपभोक्ता हित उपसमितिको प्रतिवेदनका आधारमा खडकालाई कारबाही गर्न सिफारिस गरेको हो ।

उपसमितिले स्थलगत अध्ययनगरी ठाउँ अनुसार तीनदेखि चार गुणासम्म बढी मूल्यमा जग्गा खरिद गरिएको देखिएको प्रतिवेदन दिएको छ । जग्गा खरिदमा अनियमितता भएको चर्चापछि प्रधानमन्त्री कार्यालयले साउन २१ मा १५ दिनभित्र छानबिन प्रतिवेदन पेस गर्न मन्त्रालयलाई निर्देशन दिएको थियो । तर, मन्त्रालयले आलटाल गर्दै आएको थियो ।

प्रधानमन्त्री कार्यालयले दुई साताअघि अर्को पत्राचार गर्दै छानबिन अघि बढाउन निर्देशन दिएको थियो । पत्रमा तीन दिनभित्र छानबिन प्रतिवेदन पेस गर्न भनिएको थियो ।

प्रधानमन्त्री कार्यालयको ताकेता र  समितिको निर्देशन पश्चात मन्त्रालयले आन्तरिकरुपमा छानबिन अघि बढाएको थियो । आपूर्ति सचिव कृष्ण देवकोटाले तयार पारेको प्रतिबेदन गत सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पेस गरिसकिएको छ । सोमबार बस्ने मन्त्रिपरिषदले प्रतिवेदनमाथि छलफल गरी निर्णयमा पुग्ने जानकारी मन्त्री मण्डलले दिए ।

‘लेखा, अर्थ, बाणिज्य, सुशासनलगायत सबै समिीतको चासो छ,’ उनले भने, ‘खडकालाई निलम्बन भन्दा बर्खास्ती नै गर्न प्रस्ताव गर्छु ।’  संसदको सार्वजनिक लेखा समिति, अर्थ उपसमितिले पनि जग्गा खरिद गर्दा करोडौ रुपैयाँ घोटाला भएको निष्कर्ष निकालिसकेका छन् । लेखा समितिले थप छानबिन र कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत आग्रह गरिसकेको छ ।

अख्तियारले प्रारम्भिक चरणमा केही कैफियत देखिएको बताउँदै अनुसन्धान गरिरहेको जनाए पनि आलटाल गरिरहेको छ । ‘निगमका कार्यकारी निर्देशक खडका र अख्तियारबचि राम्रो सम्बन्ध छ,’ सञ्चालक समिीतका एक सदस्यले भने, ‘सम्बन्ध सुमधुर भएकै कारण अनियमितता छताछुल्ल भए पनि अख्तियारले चासो नदिएको हो ।’

निगमले इन्धन भण्डारण बनाउने भन्दै भैरहवामा १४ बिघा ७ कट्ठा ७.१ धुर जग्गा खरिद गरेको छ । उसले प्रतिकट्ठा १० लाख ९३ हजार रुपैयाँका दरले खरिद गरेको हो । झापामा १३ लाख ५१ हजार रुपैयाका दरले २३ बिघा ३ कट्ठा १३ धुर खरिद गरिएको छ । चितवनमा निगमले १५ लाख ८५ हजार रुपैयाँका दरले २३ बिघा १२ कट्ठा ३.२५ धुर किनेको छ । आजको कान्तिपुरमा खबर छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here