इलाम, १४ साउन– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले दलिय रुपमा गठन भएका निजामति कर्मचारी संगठन विघटन हुनुपर्ने बताउनुभएको छ ।
नेता खनालले मुलुकमा भएका राजनीतिक दलकै संख्यामा कर्मचारी भित्र पनि संगठन बनाउनु दुखद पक्ष भएको भन्दै अब ती सबै विघटन हुनुपर्ने बताउनुभएको हो ।
सुर्योदय नगरपालिका इलामले आज काठमाडौमा गरेको अन्तरक्रियामा नेता खनालले स्थानीय तहको निर्वाचन पश्चात देशभरी नै विकासको लहर छाएको उल्लेख गर्दै विगतमा राजनीतिक अभिष्ठ पुरा गर्नका लागि खोलिएका दलिय कर्मचारी संगठनको आवश्यकता नहरेको स्पष्ट पार्नुभएको हो ।
स्थानीय तहमा चुनिएका जनप्रतिधिका सामु थुप्रै संभावना अनि चुनौति रहेको भन्दै नेता खनालले ठुलो जिम्मेवारीलाई गहनता पुर्वक निर्वाह गर्न सुझाव दिनुभयो ।
स्थानीय तहले स्थानीय सरकारको सम्पुर्ण अधिकार पाएकाले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार प्रयोग सुझबुझका साथ गर्नुपर्नेमा पनि उहाले जोड दिनुभयो ।

