नारायणगढ–मुग्लिन सडकमा ठुलो पहिरोः बिहानैदेखि यातायात प्रभावित

नारायणगढ मुग्लिन सडकको टोपे खोलामा आज बिहान फेरि ठुलो पहिरो गएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सुचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार बिहान पाँच बजे गएको पहिरोका कारण आज दिनभर यातायात प्रभावित हुने अवस्था छ ।

पहिरो सफा गर्न आज दिनभर जस्तो लाग्ने उहाँले जानकारी दिनुभयो ।  ‘अहिले गाडी ठप्पै छ । एक तर्फी खुलाउन पनि अझै तीन चार घण्टा लाग्छ । तीन चार बजेयता दुई तर्फी गाडी खुल्ने सम्भावना छैन’ सुचना अधिकारी खनालले भन्नुभयो । पहिरोका कारण सोमबार दिनभर बाटो अवरुद्ध थियो । हिजो पनि राम्रोसँग गाडी चल्न सकेको थिएन ।

राजधानी काठमाडौंको लाइफ लाइन यो सडक वर्षासँगै पहिरो खस्दा पटक पटक बन्द हुने गरेको छ ।  नारायणगढ–मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको फराकिलो बनाउन ठाउँ ठाउँमा पहाड काटिएको छ । पहाड काटेको ठाउँमा पहिरो गएर सडक बन्द हुने गरेको हो । अघिल्ला वर्षहरुमा लगातार ४३ घण्टासम्म बाटो बन्द भएको थियो । यो वर्ष असार ११ गते सोमबार लगातार ११ घण्टा बाटो बन्द भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here