काठमाडौं,२९ मंसिर–बहुपक्षीय दातृ निकायको ऋणमा बन्ने आयोजना कति महँगा पर्छन् भन्ने पछिल्लो उदाहरण एसियाली विकास बैंक (एडीबी) को सहयोगमा निर्माण हुन लागेको नारायणगढ-बर्दघाट र बर्दघाट-बुटवल सडक चौडा पार्ने ठेक्का प्रकरणले उजागर गरेको छ।
एडीबीले सबैभन्दा कम रकम कबोल गर्ने चिनियाँ कम्पनीलाई प्रतिस्पर्धाबाट हटाएर उसको भन्दा दुई अर्ब २१ करोड रुपैयाँ बढी कबोल गरेको भारतीय कम्पनीलाई ठेक्का दिलाउन लागेको छ। उक्त दुवै खण्डको ठेक्का पाउन योग्य भनेर एडीबीकै काठमाडौंस्थित आयोजना निर्देशनालयले मूल्यांकन गरी सिफारिससहित पठाएपछि एडीबी मुख्यालय मनिलाले विभिन्न अत्तो थापी प्रतिस्पर्धाबाट अलग गराएको अन्नपूर्णलाई प्राप्त कागजातबाट देखिन्छ।
सडक विभागले ठेक्काका लागि सिफारिस गर्नुअघि चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड (कोभेक) लाई प्राविधिक प्रस्तावमा उत्तीर्ण गराई वित्तीय प्रस्ताव माग गरेको थियो। उसले दुवै सडक फराकिलो पार्ने उक्त ठेक्काका लागि संयुक्त रूपमा १३ अर्ब १४ करोड रुपैयाँमा कबोल गरेको थियो। आजको अन्नपूर्णमा खबर छ ।

