काठमाडौं,८ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्नका लागि खटाइएको नापी विभागको टोली सगरमाथाको चुचुरोमा पुगेको छ । टोली आज बिहान ३ बजेर १५ मिनेटमा सगरमाथाको शिखरमा पुगेको बताइएको छ । विभागका उपसचिव खिमलाल गौतम नेतृत्वको टोली शिखरतर्फ गएको थियो ।
टोलीका सदस्य रविन कार्कीसहित क्लाइम्बिङ गाइड छिरिङजाङ्बु शेर्पालगायतले शिखरमा पुगेर ’जिएनएनएस जिपिएस सेट’ गर्ने काम सम्पन्न गरेको विभागको टोलीलाई आरोहण व्यवस्थापनको जिम्मा लिएको पिक प्रमोशन प्रालिका निर्देशक आङबाबु शेर्पाले बताउनुभयो ।
सगरमाथाको उचाइ यसअघि विभिन्न देश तथा अन्तराष्ट्रिय निकायको पहलमा नापिए पनि यसपटक भने नेपाल आफैंले सगरमाथाको उचाइ नाप्ने काममा अग्रसरता देखाएको हो । ०७२ को भूकम्पपछि सगरमाथाको उचाइ घटेको अडकलबाजी हुँदै गर्दा सो भ्रम तोड्नका लागि पनि सरकारी टोलीलाई त्यसतर्फ पठाइएको हो ।

