नागरिकताको विषयमा परिपत्र गरिसकिएको छः गृहमन्त्री थापा

काठमाडौं,२७ चैत । गृहमन्त्री रामबहादुर थापाले नागरिकताको विषयमा जिल्ला प्रशासनमा परिपत्र गरेको बताउनुभएको छ । उहाँले नेपालको संविधान र सर्वाेच्च अदालतको आदेशका आधारमा जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरिएको स्पष्ट पारेका पार्नुभयो ।
प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदको प्रश्नको जवाफमा संविधान र कानूनमा व्यवस्था भएअनुरुप सरकारले नागरिकको हकको संरक्षण गर्ने सन्दर्भमा सो निर्णय गरेको बताउनुभयो । नेपालको संविधानले कुनै पनि नागरिकलाई नागरिकताबाट वञ्चित गर्न हुन्न भनेर मौलिक हकका रुपमा स्थापित गरेको बताउँदै उहाँले नागरिक हकको संरक्षण गर्न मन्त्रालयले सो परिपत्र गरेको बताउनुभयो ।
जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता उपलब्ध गराउन गृहमन्त्रालयबाट भएको परिपत्रका सम्बन्धमा सर्वाेच्च अदालतमा उजुरी परेपछि अदालतले मन्त्रालयको निर्णय हाललाई यथावत् राख्न आदेश दिएको थियो । अदालतबाट सो विषयको छिनोफानो गर्न दुवै पक्षलाई बोलाएर छलफल गर्ने आदेश भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here