काठमाडौं, २८ चैत । प्रमुख प्रतिपक्षी एमालेले संविधान संशोधनको नयाँ मस्यौदाबारे सरकारबाट कुनै जानकारी नआएको बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको परिमार्जित मस्यौदामा एमाले नेताहरु समेत सकारात्मक रहेको अभिब्यक्ति दिएपछि एमालेले सोबारे स्पष्ट पारेको हो ।
राजधानीमा आज बसेको स्थायी समिति बैठकले संविधान संशोधनबारे पार्टीको धारणा यथावत रहेको भन्दै प्रधानमन्त्री दाहालको अभिब्यक्तिप्रति आपत्ति जनाएको छ । नेता अमृतकुमार बोहोराकाअनुसार, दलीय छलफलमा सहभागी शीर्ष नेतृत्वले सत्तारुढ दलसँगको बैठकबारे जानकारी गराउदै संशोधनको नयाँ मस्यौदाबारे कुनै जानकारी नभएको बताएका थिए ।
यस्तै बैठकले सभापति शेरबहादुर देउवासहितका कांग्रेस नेताको पछिल्लो अभिब्यक्तिप्रति समेत आपत्ति जनाएको छ । चुनावी प्रचारप्रसार अभियानका क्रममा कांग्रेस नेताहरुले एमाले मधेश फुटाउन लागि परेको आरोप लगाएका थिए ।
एमाले स्थायी समिति बैठकले मधेसी मोर्चाको उचित माग सम्बोधनका लागि सकारात्मक रहेको बताउदै निर्वाचनका लागि उचित वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको नेता बोहोराले जानकारी दिनुभयो ।

