सुनसरी-१ भदौ, सुनसरीको धरान उपमहानगरपालिका-१२ महेन्द्रपथ स्थित मिक कम्प्युटर प्रा.लि.का संचालक सहित ४ जनालाई इलाका प्रहरी कार्यालय धरानले नक्कली कागजात बनाई बिक्रि गरेको अभियोगमा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान -१९ बस्ने वर्ष ४२ को राज कुमार लिम्बु, धरान-८ बस्ने वर्ष ३६ को सरोज योङहाङ , धरान-१५ बस्ने वर्ष ३५ को विरध्वज लिम्बु र धरान-१ बस्ने वर्ष ४० को राम कुमार सिवा रहेका छन् । उनीहरुलाई सरकारी कागजातहरु नक्कली बनाई बिक्री गरेको अभियोगमा संघीय प्रहरी ईकाई कार्यालय र ईलाका प्रहरी कार्यालय धरानको टोलीले बिहिबार राती पक्राउ गरेको हो ।
प्रहरीले उक्त ईन्स्टिच्युटबाट नेपाली नागरिक्तको प्रमाण पत्र बनाउने खाली प्याड, उच्च माध्यमिक शिक्षा परिषद र त्रिभुवन विश्वविधालयको विभिन्न तहको शैक्षिक प्रमाण पत्र, यातायात व्यवस्था विभागको होलोग्राम, विभिन्न गाउँ विकास समितिबाट जारी गरिने प्रमाण पत्रहरु तथा विभिन्न कार्यालयको छाप-७२ थान र विभिन्न पदाधिकारीहरुको छाप-१५५ थान बरामद गरेको छ ।

