धर्म प्रचारक युनिभर्सिटीसित फेरि सम्झौता

काठमाडौं,२० जेठ । त्रिभुवन विश्वविद्यालयले दक्षिण कोरियाको काङनाम विश्वविद्यालयसित फेरि सम्झौता गरेको छ । त्रिविले उक्त विश्वविद्यालय धर्म प्रचारमा जोडिएको पाएपछि यसअघिको सम्झौता तोडेको थियो । उक्त विश्वविद्यालयले गत बुधबार काठमाडौंमा एक समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधि प्रदान गरेको थियो । यसलगत्तै त्रिवि उपकुलपति तीर्थराज खनियाँले उक्त विश्वविद्यालयसित समझदारीपत्रमा एमओयू मा हस्ताक्षर गरेका हुन् ।

‘त्रिवि उपकुलपतिले काङनाम विश्वविद्यालयसित शैक्षिक कार्यक्रम सञ्चालन समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ,’ त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक भूपप्रसाद धमलाले भने, ‘पाँच वर्षका लागि शैक्षिक कार्यक्रममा समझदारी भएको हो । जसमा अध्ययन, अनुसन्धानजस्ता बुँदागत कार्यक्रम छन् ।’

काङनाम विश्वविद्यालयले डेढ दशकअघि त्रिभुवन विश्वविद्यालयसित ‘विशेष आवश्यकता शिक्षा’ स्पेसल निड्स एजुकेसनरएसएनई का निम्ति समझदारी गरेको थियो । त्रिवि शिक्षाशास्त्र संकायअन्तर्गत कीर्तिपुरमा सञ्चालित एकवर्षे बीएड कार्यक्रममा पठनपाठन गराइएको थियो । विद्यार्थीलाई मासिक चार हजार रुपैयाँ छात्रवृत्ति दिइएको थियो ।

उक्त विश्वविद्यालयबाट हरेक वर्ष कोरियाका विद्यार्थी र अन्य गरी सय जनाभन्दा बढीको टोली नेपाल भ्रमणमा आउने गर्थ्यो । कोरियाली टोलीले केही दिन काठमाडौंमा औपचारिक कार्यक्रम गर्ने र त्यसपछि पोखरा भ्रमण गर्ने भन्दै दुर्गम गाउँमा पुगेर धर्म प्रचार गर्थ्यो । धर्म प्रचार गरेको पुष्टि भएपछि अवधि नपुग्दै त्रिविले उक्त विश्वविद्यालयसित सम्झौता तोडेको थियो ।

अहिले सम्झौता भएको कार्यक्रम त्रिविको कुन संकायमा सञ्चालन हुने भन्नेबारे आफूलाई जानकारी नरहेको कार्यकारी निर्देशक धमलाले प्रस्ट्याए । ‘मेरो काम विश्वका विभिन्न विश्वविद्यालयसित समन्वय गर्ने मात्रै हो,’ उनले भने, ‘यसको कार्यान्वयनबारे उपकुलपतिलाई सोध्नोस् ।’ उपकुलपति खनियाँ हाल विदेश भ्रमणमा छन् । उपकुलपतिको कार्यवाहक अधिकार पाएकी रेक्टर सुधा त्रिपाठीले ‘एमओयूबारे आफूलाई कुनै जानकारी नरहेको’ दाबी गरिन् ।

त्रिवि शिक्षाशास्त्र संकायका डिन कृष्णप्रसाद गौतमले काङनाम विश्वविद्यालयसित सम्झौता भएको बारे कुनै जानकारी नरहेको बताए । वेबसाइटमा उल्लेख भएअनुसार काङनाम विश्वविद्यालय सन् १९४६ मा इसाई प्रार्थना केन्द्रका रूपमा खुलेको हो । आजको कान्तिपुरमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here