द्वन्द्वका नाममा भएको हत्याका घटनामा संलग्नलाई कडा कारवाही हुनुपर्छ : देउवा

भक्तपुर, २४ जेठ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वका हत्यामा संलग्नहरुलाई छाड्न नहुनेमा जोड दिनुभएको छ ।

आज शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानको छैटौँ स्मृति सभा तथा छात्रवृत्ति एवं प्रमाणपत्र वितरण समारोहमा उहाँले द्वन्द्वका नाममा भएको हत्याका घटनामा संलग्नलाई कडा कारवाही हुनुपर्ने बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो, “प्रजातन्त्रका लागि लड्ने योद्धाका रुपमा रहनुभएका जोन्छेंमाथि द्वन्द्वका नाममा उहाँकै घरमा गएर गोली प्रहार गर्नु ठूलो अपराध हो, यस्ता अपराधीलाई कहिल्यै कसैले पनि छुट दिनुहुँदैन ।”

सभापति देउवाले शहीद जोन्छेंले छाडेर गएको काम सफल पार्नु र उहाँले अवलम्बन गरेको बाटो पछ्याउनु आजको आवश्यकता रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here