दोस्रो चौमासिक सम्ममा २ सय ४४ जना हिंसा पीडितलाई सेवा

हेटौडा,१२ बैशाखःअस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) हेटौंडा अस्पतालबाट दोस्रो चौमासिक सम्ममा २ सय ४४ जना हिंसा पीडितले सेवा लिएका छन् । दोस्रो चौमासिकसम्म महिला हिंसाका २ सय ३० र पुरुष हिंसा भएका १४ जना गरी २ सय ४४ जनाले ओसीएमसीबाट सेवा लिएका हुन् ।

ओसीएमसीको दोस्रो चौमासिक समीक्षा बैठकमा घरेलु हिंसाका घटनाहरु ३८ वटा, एकसय ७ वटा शारीरिक हिंसा, ६४ वटा यौनजन्य हिंसा र ३५ वटा मानसिक तनाव वा यातनाका घटनाका पीडितले सेवा लिएको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।

गाउँपालिकामा भन्दा नगरपालिकामा हिंसाका घटनाहरु धेरै देखिएका छन् । ओसीएमसीमा आएका घटनाहरुमा नगरपालिकाबाट १ सय २६ वटा घटना आएका छन् भने गाउँपालिकाका ९४ वटा घटना आएको देखिन्छ ।

केन्द्रले २ सय २१ पटक शारीरिक परीक्षण, ३० पटक एचआईभी/भीसीटी परीक्षण, १४ पटक गर्भ परीक्षण, एकसय ७ पटक चोटपटकको उपचार, २७ पटक यौन रोगको उपचार, ९४ पटक मनोविमर्श सेवा गरी दोस्रो चौमासिकसम्म ८ सय २२ पटक सेवा उपलब्ध गराएको उल्लेख गरेको छ । यसैगरी केन्द्रमा चालु आर्थिक वर्षको लागि १२ लाख रुपैयाँ विनियोजित भएकोमा हालसम्म ६ लाख २८ हजार रुपैयाँ मात्र खर्च भएको छ ।

ओसीएमसीकी फोकल पर्सन बालकुमारी ढकालले हिंसा पीडितहरु ७३ जना हिंसा पीडितहरु दोहोर्‍याएर सेवा लिन आएको जानकारी गराईन । गत वर्षको सोही अवधिको तुलना केही घटना बढी देखिएको छ ।  ओसीएमसीको सेवाका बारेमा सर्वसाधारणमा जानकारी बढ्दै जानु र सर्वसाधारण सचेत हुनु प्रमुख कारण भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here