काठमाडौं, ६ जेठ–सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोले अब दोस्रो चरणको निर्वाचन जेठ ३१ गते नै हुने बताउनुभएको छ ।
आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा रायमाझीले पहिलो चरणको निर्वाचनमा जनताले आफ्नो पार्टीलाई अहिलेको भन्दा निकै राम्रो भोट दिने आफूहरुले आशा लिएको भएपनि आशा गरेजस्तो मत नआएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नु भयो–‘हामीले त धेरै ठूलो आशा गरेका थियौं, हुन त हामीले ०७० को निर्वाचन भन्दा राम्रो मत पाएका छौं र हामीले यो भन्दा धेरै नै आशा गरेका थियौं, एउटा कुरा के प्रष्ट भयो भने अझैपनि जनतामा ठूलो भ्रम रहेछ ।’
यद्धपी उहाँले आफ्नो पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सुधार गर्ने, प्रदेशको चुनावमा धेरै राम्रो गर्न र केन्द्रिय संसदको चुनावमा टप हुने दाबी गर्नुभयो ।
उहाँले दाबी गर्दै भन्नुभयो,‘माओवादी पहिलो पार्टी हुन्छ, तर केन्द्रिय संसदको चुनावसम्म धैर्य गर्नुहोस्, टोपबहादुरले बोलेको कुरा अहिलेसम्म फेल खाएको छैन, म जे बोल्छु त्यो पूरा हुन्छ ।’
माओवादी पार्टी एक भएको भए कसैलेपनि पहिलो पार्टी बन्ने सपना नदेखे हुन्थ्यो भन्दै पार्टी विभाजनको बावजुदपनि तेस्रो स्थानमा आउनु खुशीको कुरा भएको बताउनुभयो ।

