दोस्रो चरणको निर्वाचनकालागी उम्मेदवारको मनोनयन दर्ता आज

काठमाडौं,१६ कार्तिकः मङ्सिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन दर्ता आज हुदैछ ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागी शान्तिपूर्ण एवं उत्साहजनक रूपमा सहभागी हुन सबै राजनीतिक दल र उम्मेदवारलाई आह्वान गरेको छ ।

आयोगले उम्मेदवारी दर्ताको सबै तयारी पूरा भएकाले आज बिहान १० देखि अपराह्न ५ बजेभित्र ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ सदस्यका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम राखेको जनाएको छ। उम्मेदवारको मनोनयनपत्र पेस गर्दा प्रतिनिधिसभा सदस्यका लागि १० हजार रुपैयाँ तथा प्रदेशसभा सदस्यका लागि पाँच हजार रुपैयाँ लाग्नेछ ।

महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।

धरौटी राख्दा निर्वाचन अधिकृतको कार्यालयमा नगदै दाखिला गरी सोको नगदी रसिद वा आयोगले तोकेको धरौटी खातामा रकम जम्मा गरिएको सक्कल बैङ्क भौचर मनोनयन पत्रसाथ संलग्न गरी पेस गर्नुपर्नेछ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन एकैपटक मङ्सिर १० र २१ गते दुई चरणमा हुुँदैछ ।

निर्वाचनका सम्पूर्ण गतिविधिलाई सुरक्षा प्रदान गर्न आवश्यक सुरक्षाप्रबन्ध भइसकेको जनाउँदै आयोगले निर्वाचनलाई महान् उत्सवका रूपमा सफल बनाउन सवैमा आग्रह गरेको छ ।

आज उम्मेदवारी दर्ता गरेसंगै उम्मेदवारहरुले निर्वाचन आचारसंहिता पालाना गर्नुपर्ने प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here