“देश भित्र र बाहिरका शत्रुहरु अस्थिरता पैदा गर्ने तयारी छन्,सुरक्षा मजबुत बनाउनुहोस्”-गृहमन्त्री थापा

चितवन,६ वैशाख। गृहमन्त्री रामबहादुर थापाले देश भित्र र बाहिरका शत्रुहरु अस्थिरता पैदा गर्ने तयारीमा रहेको भन्दै सुरक्षालाई मजबुत बनाउन निर्देशन दिनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षणपछि बिहीबार बिहान निर्देशन दिदैं उहाँले देशलाई हिजोकै अस्थिरतातर्फ फर्काउने दाउमा केही लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुरक्षालाई बलियो बनाउँदै त्यसलाई रोक्नु आवश्यक छ ।’

जनप्रतिनिधिलाई पत्र पठाउने, कारबाही गर्ने, चन्दा उठाउने, ठाउँठाउँमा विस्फोट गराउनेजस्ता गतिविधि भइरहेको भन्दै उहाँले त्यस्ता गतिविधि तत्काल रोकिनुपर्ने बताउनुभयो ।

अपराधी लुक्ने ठाउँका रुपमा चितवन विकास हुँदै गएको भन्दै उहाँले भन्नुभयो, ‘जति विकास हुन्छ, चुनौती र अपराध थपिँदै जान्छ, सुरक्षा नीतिमा परिमार्जन गर्नु आवश्यक छ ।’

लागूऔषध दुर्व्यसनी, तस्करी र कारोबारी बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न पनि  निर्देशन दिनुभयो ।

उहाँले प्रहरी संगठनमा भौतिक पूर्वाधार, उच्च प्रविधिलगायतको अभावका बीच पनि संगठनले आफ्नो छवि उच्च राखेर अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै यसलाई अझ सशक्त बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।

प्रहरीको समयमा बढुवा नहुँदा आत्मबल उच्च राख्न नसकिएको स्वीकार गर्दै उनले यसलाई नीतिगत रुपमा परिवर्तन गर्ने आश्वासन समेत दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here