देशैभरि वम आतंक, कहाँ भेटिएनन्…वम ?

काठमाडौं,१३ जेठ । नेत्रविप्लव माओवादीले आह्वान गरेको नेपाल बन्दलाई सफल बनाउन विभिन्न स्थानमा राखिएको वम अहिले डिस्पोज गरिदै छ । देशका अधिकांश स्थानमा बिहानै वम फेला परेपछि स्थानीय सर्वसाधारण त्रसित भएका छन् ।पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेंशी पुलमा फेला परेको विष्फोटक पदार्थलाई नेपाली सेनाको टोलीले झण्डै चार घण्टापछि निष्कृय पारेको छ ।  आइतबार राति साढे १ बजेतिर फेला परेको शंकास्पद नेपाली सेनाको टोलीले आज बिहान साढे ५ बजेतिर निष्कृय पारेको हो । विष्फोटक पदार्थ निष्कृय पार्न गजुरीबाट नेपाली सेनाको टोली बोलाइएको थियो । खानीखोला प्रहरीका अनुसार सो विष्फोटक पदार्थ सकेट बम रहेको खुलेको छ ।

धादिङकै नौबिसेमा पनि शंकास्पद बस्तु 

धादिङकै नौबिसेमा पनि शंकास्पद बस्तु फेला परेको छ । अहिले सो स्थानलाई नेपाली सेनासहितका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर निष्कृय बनाउने प्रयास गरिरहेका छन् ।

दुई ट्रकमा आगजनी
मकवानपुरको चौकी टोल र खानीगाउँमा दुई ट्रकमा आगजनी भएको छ । त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाको चौकीटोलमा रोकिराखेको ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ८००७ नम्बरको एउटा खाली ट्रकमा पनि आगजनी भएको प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भटराईले जानकारी दिनुभयो ।  यस्तैः बन्दको क्रममा हेटौंडा बजारको मुख्य चोक बुद्धचोक नजिक राखेको प्रेसरकुकर बम नेपाली सेनाको निष्कृय पारेको छ ।

वर्दिबास नगरपालिकाको मूल गेटमा वम
जनकपुरको वर्दिबास नगरपालिकाको मूल गेट नजिकै कुकर बम फेला परेको छ । बम फेला परेको सूचना पाउनसाथ प्रहरी घटना स्थल पुगिसकेको छ भने आर्मीको डिस्पोजल टोली पुग्दैछ । २.५ लिटरको कुकरमा विस्फोटक राखिएको छ भने माथि एउटा मोबाइल राखेर कनेक्ट गरिएको छ ।

वडा कार्यालय अघि वम
सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ८ मा शंकास्पद वस्तु फेला परेको छ । निमार्णधिन मदन भण्डारी राजमार्गबीच शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । दुधौली नगरपालिकाका अधिकाशं शौक्षिक संस्था बन्द भएका छन् । सवारी साधन भने छिटफुट रुपमा चलेका छन् ।

राजमार्गमा वम
मोरङको सुन्दरहरैंचा ७ ढडियास्थित पूर्व–पश्चिम राजमार्गनजिक तारले बेरिएको प्रेसर कुकर भेटिएको छ । राजमार्ग छेउ बिजुलीको खम्बा नजिकै उक्त शंकास्पद वस्तु फेला परेको हो । यसैगरी प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका प्रवेश गर्ने ढाट चोकमा पनि शंकास्पद वस्तु भेटएिको छ । सुरक्षाकर्मीले उक्त स्थानलाई घेरा हालेका छन्।

दमौली–तनहुँमा दुई ठाउँमा शंकास्पद बस्तु

दमौली–तनहुँमा दुई ठाउँमा शंकास्पद बस्तु बिहान फेला परेको छ । पृथ्वीराजमार्गमा पर्ने बन्दीपुर १ नाहला र व्याँस नगरपालिकको मुसीखोलामा शंकास्पद वस्तु फेला परेको हो । नाहला राखिएको शंकास्पद वस्तु भने सेनाको टोलीले डिस्पोजल पारिएको प्रहरी उपरीक्षक विनोद सिलवालले बताउनुभयो ।
बैतडीमा विद्यालय अघि वम
बैतडी–दोगडाकेदार गाउँपालिकामा बिहानै शंकास्पद वस्तु फेला परेको छ । दोगडाकेदार– ३ को श्रीकोटस्थित सनातन धर्म मावि नजिकै महाकाली राजमार्गमा शंकास्पद वस्तु भेटिएको हो । प्लाष्टिकको दुई पोका तार जोडिएको र इनामेलका २ वडा डिब्वा रातो कपडाले बेरिएको अवस्थामा उक्त वस्तुहरु रहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो ।

बारामा भारतीय ट्रक जल्यो

बन्दका क्रममा बाराको जीतपुरसिमरा उपमहानगरपालिका-३, बजनीमा आइतबार बिहान रोकिराखेको भारतीय लरीमा अज्ञात समूहले आगजी गरेको छ । एपी ३१ एक्स ६३१६ नम्बरको ट्रक लरी नेपाल-भारत पेट्रोलियम पाइपलाइनका लागि पाइप बोकोर आएको थियो । आगजनीमा संलग्नको खोजी र घटनाबारे अनुसन्धान भइरहेको बाराका प्रहरी प्रबक्ता रञ्जित सिंह राठोरले जानकारी दिनुभयाे ।

चन्द्रनिगाहापुरमा शंकास्पद बस्तु

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहापुरस्थित मूख्य चोकमा शंकास्पद् बस्तु फेला परेको छ । उक्त बस्तु बम भएको आशंका गरिएको छ। सूचनापछि नेपाली सेनाको डिस्पोजल त्यहाँ पुगेको प्रहरीले जनाएको छ।

भक्तपुरमा शंकास्पद बस्तु

नेपाल बन्दको दिन बिहानै भक्तपुरको च्यामासिंहमा शंकास्पद बस्तु फेला परेको छ । च्यामासिंहस्थित मालपोत कार्यालय नजिकै सोमबार बिहान पौने ३ बजेतिर प्रहरीको मोबाइल टोलीले शंकास्पद बस्तु फेला पारेको हो । सेतो रंगको झोलामा पोको पारिएको अवस्थामा रहेको शंकास्पद बस्तु निष्क्रिय पारिएको छ । विप्लवको बन्द असफल पार्न सुरक्षाकर्मीले जनशक्ति थपरे ‘हाइ अलर्ट’मा रहेको उपत्यकाका सुरक्षा निकाय प्रमुखले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here