काठमाडौँ, ७ जेठ– शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अबको दुई वर्षमा भूकम्पका कारण क्षति पुगेको सबै विद्यालय निर्माण गरिसक्ने बताउनुभएको छ ।
आज यहाँ दरबार हाई स्कूलले पुनः निर्माणको सम्बन्धमा आयोजना गरेको कार्यक्रममा दबार हाइस्कूल जस्ता भूकम्पले क्षति पुगेका सबै विद्यालग निर्माण हुन अब धेरै समय नलाग्ने बताउनुभएको हो ।
मन्त्री पोखरेलले भन्नुभयो, “दरबार हाइस्कूल पुरानो हो, अन्य विद्यालयभन्दा फरक र आकर्षण हुनुपर्छ सोही अनुरुप निर्माण कार्य अघि बढाउनु आवश्यक छ ।”
काठमाडौँ महानगरपालिका र पुरातत्व विभागबीच नक्सापासको विषयमा नमिलेको कुरा मिलाएर एक हप्ताभित्र नक्सा पास गर्न पनि मन्त्री पोखरेलले कामपालाई आग्रह गर्नुभएको छ ।
कामपाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले उक्त विद्यालय निर्माणका लागि अबको एक हप्तामा नक्सा पास गरिसक्ने बताउनुभएको छ ।
उक्त विद्यालाय ऐतिहासिक भएकाले नक्सापास गर्नका लागि पुरातत्वको अनुमति आवश्यक पर्ने भएकाले अन्य विद्यालयको नक्सापासभन्दा झन्झट भएको कामपा–२७ का वडा अध्यक्ष चिनियामान महर्जनले बताउनुभयो ।

