बुटवल, २४ चैत-नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले एमाले र नेकपा माओवादी केन्द्रबीच पारस्परिक सम्मान र समानताका आधारमा एकता हुने बताउनुभएको छ ।
उहाँले दुई पार्टीबीचको एकताका अधिकांश विषय मिलिसकेको र केही झीनामसिना कुराले एकतामा बाधा नपुग्ने बताउनुभयो । लाखौँ जनताको उपस्थितिमा एमाले र माओवादीको पार्टी एकता वैशाख ९ गते घोषणा हुनेसमेत उहाँले जानकारी दिनुभयो ।
प्रेस चौतारी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले विगतको इतिहास, योगदान र योग्यताका आधारमा नेता र कार्यकर्तालाई जिम्मेवारी दिइने भएकाले प्रतिशतमा भागबण्डा नहुने बताउनुभयो ।
माओवादी नेताहरुले ५०–५० प्रतिशतको आधारमा मात्र एकता गर्नुपर्ने तर्क अगाडि सारिरहेको प्रसंगमा एमाले उपमहासचिव पौडेलले भने समानताका आधारमा एकता हुने बताउनुभयो र योगदान, क्षमता र सक्रियतालाई आधार बनाउँदा माओवादीको ६० र एमालेको ४० प्रतिशत पनि पर्न सक्ने स्पष्ट पार्नुभयो ।
दुई पार्टी एकताका लागि शुरुदेखि पहल गर्दै आउनुभएका उपमहासचिव पौडेलले जनयुद्ध शब्दावली र निर्वाचन चिह्नको विषय पनि सहज ढंगले टुंगोमा पुगिने बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने बताउनुभयो ।

