दुई दशकपछि देशमा स्थानीय तहको निर्वाचन, पहिलो चरणको निर्वाचन ३४ जिल्लामा, बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान

काठमाडौं, ३१ बैशाख– स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि आज ३४ जिल्लामा मतदान हुदैछ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने छ । पहिलो चरणको निर्वाचनमा ४९ लाख ५६ हजार ९२५ मतदाता सहभागि हुदैछन् ।

निर्वाचन आयोगले ऐतिहासिक निर्वाचनमा मतदान गर्न सबैलाई आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले विशेष पत्रकार सम्मेलन गरेर निर्बाचनको भरपर्दाे सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।

कुनै कारणवश मतदाता परिचयपत्र नपाएको भए नागरिकताको प्रमाणपत्र देखाएर पनि मतदान गर्न सक्ने व्यवस्था गरिएको उहाले जानकारी दिनुभयो ।
यो निर्बचनमा ४९ हजार ३ सय ३७ उम्मेदवार चुनाबी प्रतिष्पर्दामा रहेको उहाले जानकारी दिनुभयो ।

मौन अवधिको महत्व र निर्वाचनको संवेदनशीलतालाई मनन गरीदिन आग्रह गर्दै आयोगले मतदातालाई मताधिकारको प्रयोग गर्ने सहज वातावरण निर्माणका लागि सबै राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, आमसञ्चार माध्यम र निर्वाचनसँग सरोकार राख्ने सबैसँग अनुरोध गरेको हो । कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी स्वतन्त्ररूपमा विवेकपूर्ण निर्णय गरेर गोप्य मतदान गर्न आयोगले आग्रह गरेको छ ।

अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामीलाई मतदानमा प्राथमिकता दिनपनि आयोगले सुझाव दिएको छ ।

दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैँ मत सङ्केत गर्न नसकेमा एकाघरको परिवारको सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मत सङ्केत गर्ने व्यवस्था मिलाईएको छ ।

आयोगले निर्वाचनको अनुगमन गर्न केन्द्रदेखि स्थानीय तहसम्म सूक्ष्म ढङ्गले विभिन्न तहको अनुगमन टोली र ४९ वटा संस्थाका पर्यवेक्षक खटाएको छ ।

मतदानको दिन भोलि आयोगबाट सवारी सञ्चालनको अनुमति लिएका सवारीसम्म मात्र सञ्चालन हुने भएका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक मधुसूदन सिलवालले दिनुभएको जानकारी अनुसार भोलि निर्वाचनको दिन अनुमतिपत्र नलिएका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

सुरक्षाकर्मी, सूचना विभागबाट अनुमति पत्र लिएका तथा पर्यटक सुरक्षाकर्मीका सवारी साधन भने सञ्चालनमा आउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here