काठमाडौं,१ फागुन–सरकारले दुबै प्रहरी संगठनमा नयाँ महानिरीक्षक नियुक्त गरेको छ । आज विहान सिंहदरवारमा बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यसैगरी सशस्त्र प्रहरीको महानिरीक्षकमा सिंह बहादुर श्रेष्ठलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।
फागुन ३ गतेबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका बहालवाला महानिरीक्षक क्रमशः उपेन्द्रकान्त अर्याल र दुर्जकुमार राईको पदावधि सकिने भएपछि सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो ।
नेपाल प्रहरीका अर्यालकै ब्याचका प्रहरी अतिरिक्त महानिरीक्षक, एआईजीहरुले पनि एकसाथ अवकाश पाउने भएपछि सरकारले प्रहरी नायव महानिरीक्षक, डीआईजीबाट नयाँ आईजीपी नियुक्त गरेको हो ।
यद्यपि, सरकारले डीआईजी मध्ये वरिष्ठतामा पहिलो र दोस्रो नवराज सिलवाल र प्रकाश अर्याललाई छाडेर तेस्रो बरियताका चन्दलाई महानिरीक्षक बनाएको छ ।
सशस्त्रमा भने एआईजी मध्ये वरिष्ठ रहेका सिंहबहादुर श्रेष्ठलाई नै आईजीपी बनाइएको छ । उता सरकारले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दको बढुवा गर्ने भएपछि त्यसलाई रोक्न माग गर्दै शुक्रवार नै सर्वोच्चमा रीट निवेदन दर्ता गरिएको छ ।
यससम्बन्धमा सर्वोच्चले आजै निर्णय दिन सक्ने आंकलन गरिएको छ । सरकारले तेश्रो बरियताका प्रहरी नायव महानिरीक्षक चन्दलाई प्रहरी महानिरीक्षक बनाउन लागेपछि त्यो विधि विपरित हुने भन्दै अधिवक्ता कपिलदेव ढकालले सर्वोच्चमा रीट दायर गरेका हुन् ।
खनालले आइजीपीको पद बढुवा गर्नुपर्ने र मन्त्रिपरिषदको मात्र अधिकार रहने भएपनि राजनीतिक नियुक्ति जस्तो गरिएको र मन्त्रिपरिषद बाहिर कुनै दलका शीर्ष नेताले निर्देशन दिएका भरमा नियुक्त गर्न खोज्नु प्रहरी नियमावली विपरित हुने दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्री विमलेन्द्र निधिले चन्दको नाम सिफारिस गरेको दावी गरिएको छ ।
यद्यपि, गृहमन्त्री निधि पनि सिलवाललाई नै महानिरीक्षक बनाउने पक्षमा रहनु भएको तर पार्टी सभापति देउवाको निर्देशन काट्न नसकेकाले चन्दको नाम सिफारिस गरिएको दावी स्रोतको छ ।

