चितवन, १३ वैशाख । नारायणगढ बजारबाट आज दिउँसो रु १५ लाख लुटिएको छ ।
दिउँसो १२ बजे नारायणगढको सहिदचोकस्थित नबिल बैंकबाट चेक साटेर भरतपुरतर्फ फर्कने क्रममा रु १५ लाख लुटिएको हो ।
यहाँका जग्गा व्यवसायी तेजबहादुर (केशव) कार्कीका गाडी चालक चित्रबहादुर पौडेलले चेक साटेर बैंक अगाडि पार्किङस्थलमा राखिएको बा १२ च ५९२४ नम्बरको नीलो स्कार्पियो गाडीभित्र पैसा राखेका थिए । गाडी चलाएर हिड्ने क्रममा पछाडिबाट एक व्यक्तिले गाडी पन्चर छ भनेपछि चालक पौडेल चक्का हेर्न जाँदा सो व्यक्तिले गाडीको पछाडि सिटमा राखिएको पैसा लिएर फरार भएका थिए ।
गैंडाकोटका लेखप्रसाद सापकोटाले जग्गा कारोबारका लागि रु १५ लाखको चेक दिएको र ऊ सँगै चालक पौडेल चेक साट्न बैंक गएका थिए । चेक साटेर नगद लिएपछि सापकोटा बैंकमै रहेको र चालक पौडेल मात्रै रकम लिएर गाडीसम्म पुगेको चालकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । बैंक अगाडि सिसिटिभी नभएको चितवन प्रहरीले जनाएको छ । रकम चोरी गरी फरार हुनेको हुलिया कालो वर्ण र अन्दाजी २५ वर्षको रहेको प्रहरीले जनाएको छ ।
चोरी गर्ने व्यक्ति पत्ता लगाउन सबै ठाउँमा प्रहरीलाई परिचालन गरी खोजी कार्यलाई तीव्रता दिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो । रासस

