काठमाडौं, १६ वैशाख । शनिवार देखी जारी लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन दसबुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै समापन भएको छ। लुम्बिनीलाई भगवान् बुद्धको जन्मस्थल र बुद्धधर्म विश्वशान्तिको मुहानको रुपमा स्वीकार गर्ने निर्णय गर्दै बौद्ध सम्मेलन सकिएको हो।
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा २३ देशका विद्वान् तथा धर्मगुरु, वरिष्ठ भिक्षुहरुको सहभागिता रहेको सम्मेलनले लुम्बिनी भगवान् बुद्धको जन्मस्थल, बुद्ध धर्म र विश्व शान्तिको मुहानलाई स्विकार्दै प्रवर्द्धन गर्ने प्रतिबद्धता समेत जनाएको छ।
मानवताको सबैभन्दा ठूलो गुरुको जन्मस्थलको महानतालाई बोध गर्दै र यसले अन्तर्राष्ट्रिय भ्रातृत्व, दया, करुणा तथा अन्तरआस्था र शान्ति संवादका लागि अन्तर्राष्ट्रिय केन्द्रको रुपमा विकासित गर्दै लैजाने सहभागी मुलुकका कार्यपत्र प्रस्तोताले जनाएका छन्। उनीहरु लुम्बिनीलाई विश्व शान्तिको केन्द्रको रुपमा विकास गर्ने विषयमा सहमत भएका छन।
सम्मेलनलाई समापन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभई बुद्ध धर्मको उद्गम स्थल भएको सम्मेलनले पुष्टि गरेको बताउनुभयो। विश्वलाई अँध्यारोबाट हटाउन बुद्ध र बुद्धको दर्शनले महत्वपूर्ण टेवा पुर्याएको उहाँले चर्चा गर्नुभयो।

