दलितको हातको पानी खाएको निहुँमा गाउँ निकाला

बाजुरा, १३ जेठ । बाजुराको दुर्गममा रहेको हिमाली गाउँपालिका–२ मा बसोबास गर्दै आएका जयलाल बुढाका दम्पतीले दलितको हातको पानी खाएको भन्दै गाउँलेले पीडा दिने गरेकाले सो पीडा सहन नसकी गाउँ छाडेका छन् ।

वर्षोदेखि गाउँमै बसोबास गर्दै आएका भए पनि केहि वर्षदेखि भने ती दम्पतीले नातीखोला गाउँ छोड्न बाध्य भएका छन् । हिमाली गाउँपालिका–२ नातिखोलामा बस्ने ६० वर्षीय जयलाल बुढाको परिवारलाई दलितको हातको पानी खाएको निहुँमा गाउँबाट लखेटिएको बताइएको छ । स्थानीयवासीले बुढाका दम्पतीलाई हरेक सामाजिक क्रियाकलापमा अलग्याएर गाउँमा बस्न नदिएको बुढाले गुनासो गर्नुभयो ।

सामाजिक परम्पराअनुसार दलितले छोएकाले कुनै चीज वस्तु खानु हुदैन भन्ने मान्यतालाई तोड्नका लागि एक दलितको हातको पानी खाँदा आफ्नो दम्पती र नातिनातिनीसमेत गाउँबाट लखेटिएको बुढाले बताउनु भयो ।

दलितसँग सम्बन्ध राखेको भन्दै गाउँलेले कुटपिट गरी सामाजिक रुपमा अलग्याएको दम्पतीले बताएका छन् । गाउँलेबाट लेखेटिएपछि बुढा दम्पती जंगलको नजिकै एक सानो छाप्रो बनाएर बस्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here