काठमाडौं, २४ भदौं– स्थानीय तह तेस्रो चरणको निर्वाचनको मिति नजिकिंदै गर्दा राजनीतिक दलहरुको प्रचारप्रसार अभियानले तीव्रता पाएको छ ।
आगामी असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनमा आफ्नो पक्षमा चुनावी वातावरण बनाउन मुख्य दल नेपाली कंग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायत संघीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी लगायत दल चुनावी प्रचारप्रसारमा केन्द्रित भएका छन् ।
प्रदेश नम्बर २ अन्तर्गतका ८ वटा जिल्लामा दलहरुको चुनावी प्रचार तीब्र बनेको हाम्रा सहकर्मीहरुले जनाएका छन् । गत भाद्र २१ गते मनोनयन दर्ता भएसंगै उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन् । असोज २ गते प्रदेश नम्बर २ अन्तर्गतका १ सय ३६ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ ।

