काठमाडौँ, २९ कात्तिक-दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) गतिशील हुन नसकेकामा जनस्तरमा चिन्ता व्यक्त भएको छ ।
‘दक्षिण एशियाको समावेशी एवं दिगो विकासका लागि सघन आर्थिक एकीकरण’ नाराका साथ मंगलबारदेखि यहाँ जारी त्रिद्विवसीय ‘दशौँ दक्षिण एशिया आर्थिक सम्मेलन’को दोस्रो दिन आज भएको ‘सार्क कहाँ ? दक्षिण एशियामा क्षेत्रीय सहयोगको भविष्य’ विषयको छलफलमा त्यस्तो चिन्ता व्यक्त भएको हो ।
दक्षिण एशियाको साझा समृद्धिका निम्ति ३० वर्षअघि स्थापित सात सदस्यीय क्षेत्रीय संगठन आठ सदस्यमा विस्तारित भए पनि विवादपूर्ण द्विदेशीय विषयका कारण शिखर सम्मेलनसमेत आयोजना गर्न असमर्थ भएकामा सार्क राष्ट्रका नागरिकबाट औपचारिक रुपमा नै चिन्ता प्रकट भएको हो ।
सांस्कृतिक एवं भाषिक समानता भए पनि विश्वमा नै आर्थिक रुपमा अतिकम एकीकृत भएको दक्षिण एशियाको समृद्धिमा सार्क गतिशील नभएकामा चिन्ता व्यक्त गर्दै उनीहरुले आर्थिक एकीकरणका लागि यही क्षेत्रका मुलुकले जल, स्थल र वायुमार्गबाट एकापसमा सम्पर्क स्थापनाका निम्ति द्विपक्षीय, उपक्षेत्रीय र परक्षेत्रीय संयन्त्र स्थापनामा अभिरुचि राखेको बताए ।
सार्कको निष्क्रियता, यसलाई पुनर्जीवन दिन सदस्य देश र क्षेत्रीयस्तरमा हुनुपर्ने प्रयास, व्यापार एकीकरणमा भएको अतिमन्द प्रगति, दक्षिण एशियाली आर्थिक संघ स्थापनाको सपनालाई वास्तविकतामा रुपान्तरण गर्ने विषयमा वक्ताले अभिमत जाहेर गरेका थिए ।
श्रीलंकाका लागि नेपाली राजदूत प्रा विश्वम्भर प्याकु¥यालको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले सार्क दक्षिण एशियाकै विचार व्यक्त गर्ने माध्यम हो भन्दै यस क्षेत्रको शान्ति र स्थायित्वका निम्ति अपरिहार्य भएको बताउनुभयो । सार्कको विकल्प नरहेको बताउँदै उहाँले दक्षिण एशियाको आशा र भविष्य सार्कलाई सबल एवं सुदृढ तुल्याउँदै गतिशील बनाउनुपर्नेमा जोड दिनुभयो ।
जवाहरलाल नेहरु विश्वविद्यालयका प्रा दीपक नैयर, भारतका सांसद मीनाक्षी लेखी, पाकिस्तानको राष्ट्रियसभाको अर्थ समितिका सचिव राना मोहम्मद अफजल खान, अफगानिस्तानको अर्थ मन्त्रालयका सल्लाहकार नजिर काविरी र सार्क उद्योग वाणिज्य संघका अध्यक्ष सुरज वैद्यले सार्कका सबै सदस्य देशमा विनाव्यवधान वस्तु, सेवा र मानिसको प्रवाह नभएसम्म आर्थिक एकीकरण नहुने बताउनुभयो ।

