त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ५ साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाल’ को संकल्पअन्तर्गत रही मुलुकमा कुन विषयमा कति जनशक्ति आवश्यक पर्छ भन्नेबारेमा स्पष्ट योजना ल्याउन त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।

सो विश्वविद्यालयको ५९ वार्षिक दिवस र सिनेट बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले मुलुकको विकास र समृद्धिका लागि आवश्यक पर्ने जनशक्तिको पूर्वानुमान गरी लक्षित क्षेत्र र वर्गलाई ध्यान दिएर कलेजको सम्बन्धन दिन र अध्ययन अनुसन्धान गर्न पनि निर्देशन दिनुभएको छ ।

विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले राष्ट्रिय योजना आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक जनशक्तिको आवश्यकताको पहिचानसम्बन्धी विवरण (प्रोफाइल) तयार गरिरहेको बताउँदै त्रिविले पनि त्यसअनुसार आफूलाई समय सापेक्ष, गुणस्तरीय, प्राविधिक, व्यवहारिक र अनुसन्धानमुखी शिक्षातर्फ आफूलाई केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

“देशको समृद्धि र जनताको सुखका लागि परिपूरण हुने शिक्षाको खाँचो छ,” उहाँले भन्नुभयो, “त्यसका लागि छलफल गरी निष्कर्ष र योजना तय गरेर कार्यान्वयनमा जानुपर्छ ।”

प्रधानमन्त्री ओलीले किराना पसल खोले झैँ को ग्राहक आउँछ, भनेर कुर्ने प्रकारले क्याम्पस खोलेर हुँदैन भन्दै आवश्यकताका आधारमा लक्षित क्षेत्रमा निर्भिकताका साथ स्थापना गरी जानुपर्ने धारणा व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here