तीन मासु पसलमा सिलबन्दी

काठमाडौँ, २८ जेठ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आजको विशेष अनुगमनका क्रममा तीन मासु पसलमा सिलबन्दी गर्नाका साथै ५० किलो मासु नष्ट गरिएको छ ।

माछा मासु क्षेत्रमा जम्मा आठ पसलको अनुगमन भएको थियो । तीमध्ये ललित फ्रेस हाउस ढोलाहिटी, केसी चिकन स्टोर गोङ्गबु र सगरमाथा मिट प्रोडक्ट बानियाँटारमा सिलबन्दी गर्नुको साथै सडेगलेको कुखुराको मासु ५० किलो नष्ट  गरिएको छ ।

स्वास्थ्यसेवा तर्फ जम्मा नौ संस्थाको अनुगमन हुँदा बुद्ध डेन्टल हस्पिटलको फार्मेसी युनिट, चाबहिलमा व्यवसायी अनुपस्थित रहेको, मनोदिपक औषधिको लगत नराखेको, गर्भपतनका औषधिसमेत भएिकाले तीन दिनभित्र विभागमा आउन निर्देशनसहित सिलबन्दी गरिएको छ ।

दूध तथा खानेपानीतर्फ तीन वटा अनुगमन हुँदा नेचुरल ड्रिङ्क्स वाटर प्रालिले लुज पाइपबाट जारमा पानी भरेको हुँदा उक्त पानी भर्ने स्थल बन्द गरिएको छ । कालीमाटीमा रहेको खाद्यान्न तथा होटलतर्फ १३ स्थानको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा म्याद नाघेका सामग्री नष्ट गरिएको छ ।

करिब एक वर्षदेखि विभागको अगुवाइमा नियमित रुपमा गरिएको अनुगमनले खाद्य क्षेत्रमा उलेख्य मात्रामा सकारात्मक परिवर्तन भएको अनुगमन अधिकृत ढुण्डीराज पोखरेलले बताउनुभयो । विभागले गत २३ गतेदेखि सुरु गरेको विशेष अनुगमनका क्रममा आज ३६ वटा व्यावसायिक फर्महरुको अनुगमन गरेको थियो । हरेक दिन विभिन्न पाँच विषयगत क्षेत्रमा केन्द्रित गरी अनुगमनका लागि छ टोली खटाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here