ताइवानी जोडी ४७ दिनपछि फेला, उपचार हुदै

धादिङ, १४ बैशाख– जिल्लाको उत्तरी भेक रुवीभ्यालीमा घुम्न आएर गत फागुन २६ गतेदेखि हराएका ताइवानी जोडीलाई ४७ दिनपछि फेला पारिएको छ । उद्धारकर्ताले युवतीलाई मृत अवस्थामा र युवकलाई जिउँदै फेला पारेका हुन् ।

फागुन २५ गतेसम्म ३ दिन तिप्लिङ्गको लवदुङ्गमा होमस्टेमा बास बसेका ताइवानका १९ वर्षीया युवती लिउ चेन चुन र लियाङ्ग शेङ्ग यु गत महिनाको २६ गतेदेखि रसुवा आउने पदमार्ग पाङ्गसाङ्गबाट बेपत्ता भएका थिए । उनीहरुले रुवीभ्याली हुँदै लाङटाङ जान चलनचल्तीको उक्त पदमार्ग प्रयोग गरेका थियो ।

फागुन २६ गतेदेखि लगातारको हिमपातले २२ सय मिटरसम्म जिल्लाको तिप्लिङ्गलगायतका उत्तरी बस्तीमा भारी हिमपात भएको थियो ।

पाङ्गसाङ्ग पासबाट नारचेत खर्कहुँदै करिब १२ किमि पर होटलहरु भएको सानो सोमदाङ्ग बस्ती झर्न खोज्दा उनीहरु त्याङ्ग्रोभीरमा हिउँमै चिप्लेर खाल्टोमा फसेका थिए । उनीहरु करिव २ सय मिटर तल पहरा छाँगामा फसेका थिए ।

वेपत्ता जोडीलाई खोज्न ताइवानबाट युवतीको आमा र युवकका बाबु पनि नेपाल आएका थिए । युवकका बाबुले हेलिकप्टर चार्टर गरेर दिनभर खोजी पनि गरे । युवतीकी आमा अझै पनि काठमाडौं छन् ।

ट्रेकिङ एजेन्सीका चारजना दक्ष गाईडहरुलाई संभावित स्थलमार्गमा खोज्न पनि खटाएको थियो । गाईडहरुले सोमदाङ्गका स्थानीय नेपाली कांग्रेसका नेता दावा थापालाई प्रयोग गरी बेपत्ता जोडी पत्ता लगाएको हो ।
जोडी चिप्लेको स्थान निकै भिरालो छ । स्थानीयवासीहरुले आफ्ना गाईबस्तु र चौंरी हराएपछि सोही भिरको फेदीमा गएर फेला पार्ने गरेका छन्।

काठमाडौंबाट आएका उद्धार टोलीले डोरी झुण्डाएर युवक तथा मृत युवतीलाई निकालेका थिए ।

बेपत्ता जोडीको रंगीन तस्बिर राखेर सार्वजनिक गर्दै भरपर्दो सूचना दिने व्यक्तिलाई २ लाख रकम नगद पुरस्कार पनि घोषणा गरिएको थियो ।
यसैबीच–जंगलमा हराएको ४७ दिन दिन पछि बुधवार फेला परेका ताइवानी जोडी मध्ये जीवित रहेका लियाङ्ग सेङ्ग यु को हाल ग्रान्डी इन्टरनेशनल हस्पिटलमा उपचार भइ रहेको छ ।

हिउ नै हिउले भरिएको क्षेत्रमा ति दुवै जोडी फसेका थिए । एउटा गुफाबाट उनीहरुलाई उद्धार गरिएको थियो ।

उनकी गर्ल फ्रेन्ड लिउ चेन चुन को तीन दिन अघि नै मृत्यु भएको जनाउदै ग्रान्डी अस्पतालका निर्देशक डा। चक्रराज पाण्डेले हाल लियाङ्गलाई सघन उपचारमा राखिएको वताए ।

बुधबार ११ वजे र ४७ मिनेट मा उद्धार गरिएका ताइवानी पुरुषलाई दिउँसो ४।३० मिनेटमा ग्रान्डी अस्पतालको हेलिप्याडमा ओरालिएको थियो ।

‘युवकको खुट्टा, औलाको कापहरुमा किरा परेको छ’, डा। पाण्डेले भने, ‘तर सबै भन्दा राम्रो पक्ष उनी अचेत छैनन् ।’

अस्पतालमा युवकको रगतको विभिन्न परीक्षण संगै अन्य परीक्षणहरु समेत गरिएको छ । उनलाई केहि दिन सघन उपचारमै राख्ने डा.पाण्डेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here