धनुषा, १ माघ । जनकपुरसहित सम्पूर्ण तराई–मधेशमा आज तिला सङ्क्रान्ति धुमधामका साथ मनाइँदैछ । सूर्य मकर राशिमा सङ्क्रमण गरेको दिनलाई मकर सङ्क्रान्ति भनिन्छ । यस दिनलाई माघेसङ्क्रान्ति, तिला सङ्क्रान्ति, माघी वा खिचडी पनि भन्ने गरिन्छ । प्रदेश नं २ का सरकारले तिला सङ्क्रान्तिको अवसरमा सार्वजनिक बिदाको घोषणासमेत गरेको छ ।
इसाई धर्मअनुसार बडा दिन २५ डिसेम्बरलाई मानिन्छ तर सौर्यमास अनुसार दिन मकर सङ्क्रान्तिदेखि बढ्ने गर्दछ । मैथिली भाषामा ‘माघ के दिन बाघ’ भन्ने गरिन्छ । एक महीना लामो खरमासको समाप्ति यसै मकर सङ्क्रान्तिको दिन हुन्छ तथा यस अवधिमा रोकिएका शुभ कार्य फेरि आरम्भ गरिन्छ ।
यसै दिनदेखि दिन बढ्न तथा रात घट्न थाल्दछ । सूर्यको प्रकाशमा तेज (तापक्रम) दिनानुदिन बढ्दै जाने हुँदा अत्यधिक जाडो तथा तराईमा चल्ने शीतलहर यसै दिनदेखि दिनानुदिन अल्प हुँदै जान्छ ।
मकर सङ्क्रान्तिको ठूलो धार्मिक महत्व रहेको छ । यस दिन बिहानको पूण्यकालमा सबैजना पवित्र जलमा स्नान गरेर सूर्य भगवान्लाई अघ्र्यदान गरी गौदान, अन्नदान, शय्यादान, तिलादान तथा गच्छेअनुसार नगद दान गरी गौ र ब्राह्मणलाई भोजन गराएर मात्र आफूले भोजन गर्ने परम्परा रहिआएको छ ।

