काठमाडौं, ५ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्र सहितको प्रजातन्त्र र हिन्दु राष्ट्र भन्ने शब्दावली विधानबाट हटाउने निर्णय फिर्ता लिने निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
राजधानीको धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा विहान बसेको पदाधिकारी तथा राजधानीमा रहेका केन्द्रीय सदस्यहरुको आकस्मिक बैठकले निर्णय तत्काल नसच्चिए आन्दोलनमा जानुको बिकल्प नभएको निश्कर्ष निकालेको हो।
निर्वाचन आयोगले हिजोमात्र संविधानको मर्म बिपरित भएको भन्दै राप्रपाको विधानमा रहेको राजसंस्था र हिन्दुराज्यसम्बन्धी शब्दावली हटाउँदै बांकी विधान अनुमोदन गरेको थियो ।
आयोगको निर्णयमा असन्तुष्टि जनाएको राप्रपाले आगामी सोमबार राजधानीस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालय सहित मुलुकभर रहेका जिल्ला निर्वाचन कार्यालयमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।
यस्तै सोही दिन राप्रपाले धर्ना दिने कार्यक्रम समेत तय गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा अधिकांश केन्द्रीय समिति सदस्यले निर्वाचन आयोगको निर्णय मान्य नसकिने भन्दै कानुनी उपचार खोज्नु पर्ने धारणा राखेका थिए ।
यस्तै राप्रपाले संवैधानिक हिन्दु राष्ट्र कायम गर्ने बिषयमा संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय समेत गरेको नेता श्रेष्ठले जानकारी दिनुभयो ।
यसैबीच– पार्टीले आज चुनाव चिह्न ‘गाई’ सार्वजनिक गर्ने भएको छ । पार्टीद्धारा राष्ट्रिय सभागृहमा आयोजना गरिने औपचारिक समारोहमा पार्टी अध्यक्ष कमल थापाले पार्टीको आधिकारिक चुनाव चिह्नका रुपमा ‘गाई’ सार्वजनिक गर्नुहुनेछ ।
राप्रपा र राप्रपा नेपालसँगको एकता महाधिवेशनका क्रममा केही नेताले ‘हलो’ लाई चुनाव चिह्न प्रयोग गर्न माग गरेपछि विवाद भएको थियो । तत्कालीन राप्रपा नेपालले ‘गाई’ तथा राप्रपाले ‘हलो’ चुनाव चिह्नका रुपमा प्रयोग गर्दै निर्वाचनमा सहभागी हुँदै आएका थिए ।

