ढुक्क भएर निर्वाचनमा सहभागि हौंः आयोग प्रमुख यादव

डोल्पा, ९ मंसिर-प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव अनुगमनका क्रममा डोल्पा पुगेकै दिन निर्वाचान आचारसंहिता उल्लंघन भएको आरोप लागेको छ ।

प्रमुख आयुक्त यादव निर्वाचन सुरक्षा, तयारी र निर्वाचन आचारसंहिताको कार्यान्वयनको अनुगमनका क्रममा डोल्पा पुगेकै दिन यहाँका ग्रामीण बस्तीमा आचारसंहिताविपरीत मतदातालाई प्रभाव पार्ने गरी राँगा काटिएको पाइएको छ ।

यहाँको त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत रल्ली गाउँका दलित समुदायले खुलेआम राँगा काटेर आचारसंहिता उल्लंघन गरेको आरोप नेपाली काँग्रेसका कार्यकर्ताले लगाएका छन् । उनीहरुका अनुसार वाम गठबन्धनका तर्फबाट पैसा लिएर मतदातालाई प्रभावित पार्ने गरी राँगा काटिएको काँग्रेस नेता गौरीशंकर उपाध्यायले बताउनुभयो ।

राँगा काटेको खबर प्राप्त भएपछि सम्बन्धित ठाउँमा पुगेका सुरक्षाकर्मी र सञ्चारकर्मीसँग आरोपित दलित समुदायका रामचन्द्र कुलालले कुनै पनि पार्टीका तर्फबाट नभई व्यक्तिगत तर्फबाट राँगा काटिएको बताउनुभयो ।

निर्वाचनको एक दिन अगाडि राँगा काट्न गल्ती भएको तर कुनै पार्टी विशेषको नभई नितान्त व्यक्तिगत पैसा उठाएर काटिएको अर्का स्थानीयवासी सुकलाल कुलालले बताउनुभयो ।

यता मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीका अनुसार व्यक्तिगत वा दल विशेषबाट कुन हिसाबले काटेका हुन् त्यसमा भरपर्ने र आचारसंहिताविपरीत भएको भन्ने उजुरी आएमा छानबिन गरी कारबाही गरिने बताउनुभयो ।

निर्वाचन अनुगमनका क्रममा डोल्पा पुग्नुभएका प्रमुख आयुक्त यादवले जिल्लाका तीनवटै सुरक्षा निकायका प्रमुख, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, मुख्य निर्वाचन अधिकृतसँग निर्वाचनको अन्तिम तयारी र सुरक्षाका विषयमा छलफल गरिएको थियो ।

जिल्लाका निर्वाचनसँग सम्बन्धित कार्यालयका प्रमुखसँगको छलफलमा प्रभावकारी सुरक्षा प्रबन्ध गरिएकाले मतदाता ढुक्क भएर निर्वाचनमा सहभागिता जनाउने कुरामा विश्वस्त रहेको प्रमुख आयुक्त डा यादवले बताउनुभयो । अनुगमनका क्रममा डोल्पा पुग्नुभएका प्रमुख आयुक्त डा यादव पर्यटकीय नगरी शे–फोक्सुण्डो ताल पुगेर फर्किनु भएको छ ।

डोल्पाका ६६ वटै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी सुरक्षाकर्मी पुगिसकेकाले सम्बन्धित मतदान केन्द्रबाट धमाधम छुट मतदाता परिचयपत्र वितरण भइरहेको मुख्य निर्वाचन अधिकृत रमेश ज्ञवालीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here