काठमाडौं, १९ बैशाख– प्रहरी महानिरिक्षक नियुक्तिविरुद्ध डिआईजी नवराज सिलवालले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज हुने भनिएको सुनुवाई स्थगित भएको छ ।
सुनुवाईको अर्को मिति तय भएको छैन । प्रहरी महानिरिक्षकमा प्रकाश अर्याल नियुक्त भएपछि सर्वोच्चको आदेशविपरित सरकारले निर्णय गरेको दाबी गर्दै सिलवालले गत चैत १९ गते रिट दायर गर्नुभएको थियो ।
कार्यसम्पादन मूल्यांकनमा अर्यालको भन्दा आफ्नो अंक बढी रहेपनि सरकारले बद्नियतपूर्वक अंक घटाएको दाबी सिलवालको छ ।
सरकारले भने सो रिटका साथ अदालतमा सिलवालले पेश गरेको कार्यसम्पादन मुल्यांकनको प्रतिलिपि फर्जी भएको दावी गरेको छ ।
नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाबाट कार्यसम्पादन मुल्यांकन फाईलमा सिलवालले दस्तखत, अंक लगायतका विवरणमा किर्ते गरेको पुष्टी भएको भन्दै सरकारले प्रतिवेदन सर्वोच्चमा पेश गरिसकेको छ ।
यसअघि सरकारले प्रहरी महानिरिक्षकमा जयवहादुर चन्दलाई गरेको नियुक्ती बदर गर्दै सर्वोच्चले बरिष्ठता तथा कार्यसम्पादन मुल्यांकनको आधारमा नियुक्त गर्न आदेश दिएको थियो ।

