एजेन्सी । भर्जिनियास्थित एक अदालतले ट्रम्पका पूर्वसहयोगी पल म्यानफोर्टलाई बैंक ठगी र कर हिनामिनाको अभियोगमा ४७ महिनाको जेल सजाय सुनाएको छ ।
उनी ट्रम्पको सन् २०१६ मा सम्पन्न राष्ट्रपतीय निर्वाचन अभियान प्रमुख थिए । गत वर्ष अदालतले म्यानफोर्टले युक्रेनमा राजनीतिक परामर्शबाट कमाएको दशौँ लाख डलर लुकाएको ठहर गरेको थियो ।
राष्ट्रपतीय निर्वाचनका बेला ट्रम्प र रूसको सम्बन्धबारे छानबिन शुरु भएपछि उनीविरुद्ध ती अभियोग लगाइएको थियो । उनले २ करोड ४० लाख डलर क्षतिपूर्ति र ५० हजार डलर जरिवाना तिर्नुपर्ने फैसला अदालतले सुनाएको छ ।
अदालतमा उपस्थित म्यानफोर्टले विगत दुई वर्ष आफ्नो जीवनको सबैभन्दा कठिन समय भएको बताएका थिए । आफू अपमानित र लज्जित भएको भन्दै उनले न्यायाधीशलाई आफूप्रति सहानुभूति राख्न अनुरोध गरेका थिए । उनले आफ्नो जीवन व्यावसायिक र आर्थिक रूपमा भद्रगोल भएको पनि स्वीकार गरे ।
बील शाइनको राजीनामा
राष्ट्रपति ट्रम्पका सञ्चार निर्देशक बील शाइनले शुक्रवार राजीनामा दिएका छन् । फक्स न्यूजका पूर्व कार्यकारी समेत रहेका बील शाइन गत वर्ष मात्र राष्ट्रपतिको सञ्चार निर्देशक नियुक्त भएका थिए ।
ह्वाइट हाउसका अनुसार शाइनले अब रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवारका लागि प्रचार गर्नेछन् । राष्ट्रपति कार्यालयका सन्देशलाई अझ व्यवस्थित गर्ने अपेक्षा गरिए पनि राष्ट्रपति ट्रम्पले ट्विटमार्फत ह्वाइट हाउसका सबैजसो महत्वपूर्ण सन्देश प्रवाह गर्न थालेपछि शाइनको भूमिका गौण बनेको थियो ।
केही साता अघिदेखि नै ह्वाइटहाउसमा शाइनको भूमिकाबाट राष्ट्रपति बेखुस हुनुभएको थियो । उत्तर कोरियाली नेतासँग भियतनामको हनोईमा सम्पन्न वार्ताका समयमा पनि शाइन भियतनाम गएका थिएनन् । ट्रम्पले ह्वाइट हाउसमा सँगै काम गर्न नपाए पनि सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा सँगै कार्य गर्ने विश्वास व्यक्त गरेका छन् ।

