काठमाडाँै, १३ पुस । उपत्यकामा चल्ने ट्याक्सी चालक तथा व्यवसायीले बदलिँदो परिस्थितिअनुसार वैज्ञानिक भाडादर कायम गर्न तथा ट्याक्सी चालकको सुरक्षाको प्रबन्ध गर्न माग गरेका छन् ।
बारम्बार ट्याक्सी चालकमाथि साङ्घातिक आक्रमण हुन थालेपछि उनीहरूले सरकार समक्ष चालकको सुरक्षाको सुनिश्चितता गर्न र २०६९ सालमा तोकिएको भाडादर परिमार्जित गरेर वैज्ञानिकरुपमा भाडादर कायम गर्न सरकारसँग माग गरेका हुन् ।
वैज्ञानिक भाडादर कायम नहँुदा बाध्यतावश यात्रु ठगिने गरेको बताउँदै उनीहरूले यात्रु ठगिनबाट जोगिन पनि भाडादर समायोजन हुनुपर्ने बताउँछन् । “२०६९ सालदेखि भाडा समायोजन भएको छैन । छिमेकी मुलुकहरूमा मिटरको शुरुआत कल तीन किलोमिटर बराबर हुन्छ । त्यो हिसाबले हाम्रो यहाँको मिटरमा शुरुमा कल एकदमै कम छ व्यवसायी एवं चालक पूर्ण तामाङले बताउनुभयो । शुरुमा कल एकदमै कम भएकाले यहाँका छोटो दूरीमा ट्याक्सीले मिटरमा यात्रु लैजान समस्या भइरहेको उहाँको भनाइ छ । “मूल्यवृद्धिको आधारमा किमीको भाडा पनि कम छ, पर्याप्त ट्याक्सी पार्किङ तथा ट्राफिक प्रहरीले गर्ने व्यवहार समेत राम्रो छैन ।”
सुरक्षाका सवालमा ट्याक्सी चालक असुरक्षित रहेको बताउँदै तामाङले २०७४ सालमा भक्तपुर मनोहरा किनारामा चालक यज्ञ खड्काको गाडीभित्र हत्या, गत कात्तिक २४ गते चालक भरत मल्ललाई सोही स्थानमा लगेर आक्रमण गरी गम्भीर घाइते बनाएको जानकारी दिनुभयो । यही पुस १ गते चालक डम्बर खड्कालाई ट्याक्सी चलाइरहेका बेला ललितपुरको पुल्चोकबाट बालकुमारी खोला किनारामा लगेर कुटपिट गरी गम्भीर घाइते बनाइएको घटनाका दोषी पत्ता नलाग्नु गम्भीर विषय भएको तामाङले बताउनुभयो ।

