टेलिफोन वार्ताको आवाज अभिलेख राख्ने प्रविधि छैन-नेपाल टेलिकम

काठमाडौँ, ११ असार-ल्याण्डलाइन टेलिफोन र मोबाइलमा भएको कुराकानीको आवाज अभिलेख राख्ने (रेकर्ड गर्ने) प्रविधि नरहेको नेपाल टेलिकमले जनाएको छ ।

टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले ग्राहकले कुन नम्बरमा फोन गरेर कति मिनेट कुराकानी गरे भन्ने अभिलेख (कल डिटेल) रहने तर मानिसले फोनमा बोलेको आवाज रेकर्ड नहुने रासससँग बताउनुभयो ।

“प्रहरीमा उजुरी परेर अदालतले आवाजको अभिलेख राख भने मात्र यस्तो प्रविधि जडान हुन्छ, सबै टेलिफोन र मोबाइलको यस्तो अभिलेख राख्ने प्रविधि, उपकरण एवं भौतिक संरचना पनि टेलिकमसँग छैन”, उहाँले भन्नुभयो ।

ग्राहकले कुन नम्बरमा फोन गरेर कति मिनेट कुराकानी गरे भन्ने अभिलेख पनि सम्बन्धित ग्राहकबाहेक अरुलाई नदिइने गरेको टेलिकमले जनाएको छ ।

प्रहरीमा परेको उजुरी र अदालतमा मुद्दा परेको अवस्थामा भने ती संस्थाले लेखेको पत्रका आधारमा यस्तो अभिलेख उपलब्ध गराउने अभ्यास छ । विभिन्न देशका अनुसन्धानसँग सम्बन्धित संस्था (इन्टेलिजेन्स) ले भने सूचना लिने प्रयोजनका लागि यस्तो प्रविधि जडान गर्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here