धनगढी, २ चैत । नेकपा (एमाले) को मेची–महाकाली अभियान कैलालीको टीकापुर आइपुगेको छ ।
टीकापुर पुगेपछि आज आयोजित सभालाई सम्बोधन गर्दै एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले भाला डण्डा छोडेर शान्तिपूर्ण प्रतिष्पर्धामा आउन मधेसी मोर्चालाई आग्रह गर्नुभयो ।
एमाले देशमा तीनै तहको निर्वाचन गराउने माहोल बनाउने अभियानमा लागेको दाबी गर्दै नेता खनालले सभा गर्न पाउने संवैधानिक हक खोस्नमा मोर्चाका नेता लागेको आरोप लगाउनुभयो ।
निर्वाचनमार्फत देशलाई समृद्धितिर लैजानुपर्नेमा जोड दिँदै खनालले भन्नुभयो, “टीकापुर घटनाको न्यायिक जाँच गरेर दोषीलाई कारबाही गर्नुपर्छ ।”
उहाँले स्थानीय तहको चुनाव गराउन सरकारले खुट्टा कमाइरहेको बताउनुभयो ।
एमाले उपाध्यक्ष तथा पूर्व गृहमन्त्री भीम रावलले कञ्चनपुरमा केही दिनअघि नेपाली युवकको भारतीय सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको घटनामा भारत सरकारले माफी माग्नुपर्ने बताउनुभयो । एमालेले छिटोभन्दा छिटो चुनाव गरेर देशलाई शान्ति र स्थायित्व दिन चाहेको रावलले बताउनुभयो ।
रावलले देशमा कसैको रगत नबगोस् र संविधान कार्यान्वयन गर्दै देशलाई समृद्धितिर लाग्नुपर्ने बेला कहिले तराई, पहाड र जातजातलाई लडाइ राष्ट्रलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको विचार व्यक्त गर्नुभयो ।
नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य तथा प्रदेश नम्बर ७ का सहइञ्चार्ज कर्णबहादुर थापाको अध्यक्षतामा भएको सभामा एमालेका नेता हनुमान चौधरी, गणेश विक, गरिमा शाह, दीर्घ सोडारीलगायतले मेची–महाकालीको उदेश्यमाथि प्रकाश पार्नु भएको थियो । सभामा पार्टीका नेता माधवकुमार नेपाल र महासचिव इश्वर पोखरेल सहभागी हुनुहुन्थ्यो ।
अभियान टीकापुर पुग्दा स्थानीय थारु समुदायले परम्परागतरुपमा अभियानको स्वागत गरेका थिए ।
राजनीतिक अभियान मार्फत निर्वाचनको माहोल बनाउने र संविधान कार्यान्वयनबाट राष्ट्रिय समृद्धि र एकता कायम गर्ने लक्ष्यका साथ फागुन २१ गते पूर्वी नेपालको झापाबाट सुरु भएको एमालेको अभियान सप्तरीमा मधेसी मोर्चाले विथोल्न खोजेपछि केही दिन स्थगित भएको थियो ।
चैत ३ गते धनगढी र चैत ४ गते महेन्द्रनगरमा सभापछि मेची–महाकाली अभियान पुरा हुने एमालेका नेताहरुले बताएका छन् । रासस

