टिचिङको इमर्जेन्सी सिटी स्क्यान ६ महिनामा सम्म बनेन

काठमाडौं,४ चैत–  त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा इमर्जेन्सीको सिटी स्क्यान मेसिन बिग्रिएको ६ महिना बितिसक्दा पनि बन्न सकेको छैन। १६ स्लाइसको उक्त मेसिनको एक्सरे ट्युब बिग्रिएपछि थन्किएको हो। सिटी स्क्यान मेसिन नबन्दा इमर्जेन्सीमा आएका बिरामीले समेत सिटी स्क्यान गर्न रेडियोलोजी विभागमै गएर पालो कुर्नुपर्ने अवस्था छ।

दुर्घटनामा परी गम्भीर चोटपटक लागेर आकस्मिक कक्षमा आएका बिरामीको तत्काल सिटी स्क्यान गर्नुपर्ने हुन्छ। आकस्मिक विभागमा कार्यरत एक चिकित्सक भन्छन्, ‘सिटीका लागि इमर्जेन्सीका बिरामीलाई रेडियोलोजी विभागसम्म पुर्‍याउँदा पनि ठुलो जोखिम हुन सक्छ। त्यसमाथि एउटा मात्रै मेसिन बाँकी रहेकाले पालो कुर्नुपर्ने अवस्था पनि आउँछ।’

अस्पतालका उपनिर्देशक डा. प्रेम खड्का एक्सरे ट्युब फेर्न ६० देखि ७० लाख रुपैयाँ खर्च हुने बताउँछन्। उनले खरिद प्रक्रिया झन्झटिलो भएकाले समय लागेको बताए। उनका अनुसार टेन्डर प्रक्रिया पूरा भइसकेकाले केही महिनाभित्रै सिटी स्क्यान मेसिन सञ्चालनमा आउनेछ।

हाल सञ्चालनमा रहेको १२८ स्लाइसको सिटी स्क्यान मेसिनमा पनि कन्ट्रास्ट इन्जेक्टरको अभावले एउटा स्क्यान गर्न ३० देखि ४० मिनेट लाग्ने गरेको छ। कन्ट्रास्ट इन्जेक्टर शरीरका अंगहरुलाई प्रस्ट देखाउन प्रयोग गरिने सुइ हो। ‘कन्ट्रास्ट इन्जेक्टरको अभावले सिटी स्क्यानमा चाहिनेभन्दा बढी समय लागिरहेको छ, ‘उपनिर्देशक खड्काले भने, ‘अस्पतालले त्यसको पनि छिट्टै व्यवस्थापन गर्दैछ ।’ हाल सञ्चालनमा रहेको मेसिनले दिनमा बढीमा ५० जनाको मात्र स्क्यान गर्न सकिन्छ।

अधिकांश सरकारी अस्पतालका उपकरणहरु बारम्बार बिग्रिरहन्छन्। यसरी बिग्रिएका मेसिनहरु लामो समयसम्म मर्मत सम्भार नहुनुमा कमिसनको खेल रहेको बताइन्छ। सरकारी अस्पतालमा मेसिन बिग्रिएपछि बिरामीहरु निजीमा महँगो शुल्क तिरेर सेवा लिन वाध्य छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here