काठमाडाैं–६ जेठ,कैलालीको टिकापुर घटनाका आरोपितको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति साझा पार्टीले गम्भिर आपत्ती जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै सो पार्टीले टिकापुरमा भएको जघन्य आपराधिक घटनालाई समेत लक्षित गरेर आरोपितहरुको अदालतमा विचाराधिन मुद्धा फिर्ता लिने सरकारको निर्णय प्रति गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।
आठ जना सुरक्षाकर्मी र एक जना नावालकको विभत्स हत्याका दोषीलाई राजनीतिक आवरणमा उन्मुक्ति दिने सरकारको गैर जिम्मेवार निर्णयको भत्र्सना गर्दै साझा पार्टीले दण्डहीनतालाई प्रश्रय दिने सरकारको पछिल्लो निर्णय विधिको शासन र मानव अधिकारका आधारभूत मूल्य मान्यताको बर्खिलाप रहेको स्पष्ट पारेको छ ।
कैलाली लगायत सबै आपराधिक घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न र मुद्दा फिर्ता सम्बन्धि निर्णय तुरुन्त फिर्ता लिन साझा पार्टीले सरकारसंग आग्रह गरेको छ ।
गत जेठ ४ गते बसेको मन्त्रीपरिषद्को बैठकले टिकापुर घटनालाई राजनीतिक आन्दोलनको रुपमा स्विकार गर्दै त्यस घटनका आरोपितको मुद्धा फिर्ता लिने निर्णय गरेको थियो ।

