काठमाडौं,९ असार । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थम माया थापाले ज्येष्ठ नागरिकसम्बन्धी संशोधन गर्न बनेको विधेयकलाई सशक्त बनाइने प्रतिवद्धता जनाउनुभएको छ ।
संघीय संसद्को प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिको आज बसेको बैठकमा मन्त्री थापाले ससदीय समितिले दिएका उपयुक्त सुझावहरु समावेश गरी विधेयकलाई समृद्ध बनाउने बताउनुभयो ।
ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्दै उहाँले ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरी ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक जीउने वातावरण सृजना गर्नु राज्यको दायित्व भएकाले विधेयकलाई समय सापेक्ष संसोधन गर्न मन्त्रालय तयार रहेको उहाँको भनाई थियो ।
विधेयकमाथि संशोधन दर्ता गराएका सांसदहरुले वृद्धवृद्धाले जीवनको उत्तरार्द्धको समय सम्मानित भएर बिताउनका लागि सम्पत्ति आफूखुसी प्रयोग गर्न पाउने र छोराछोरीलाई अनिवार्य दायित्व बहन गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । संशोधनकर्ताहरु प्रमिला राई र मिना सुब्बाले वृद्धवृद्धालाई बैकले पनि ऋण उपलब्ध नगराउने भएकाले वृद्धवृद्धाको उमेरको हद नराख्न सुझाव दिनुभयो ।
उमेरहदका कारण चलरअचल सम्पत्ति चलाउन पनि समस्या पर्ने भन्दै उमेरको सीमा हटाउनुपर्नेमा उनीहरुको जोड थियो।
समिति सदस्यहरु लक्ष्मी परियार र बिमला विश्वकर्माले वृद्धवृद्धाहरुले जीवनको उत्तरार्द्धको समय अत्यन्तै अमानित भएर बिताउनु परिरहेको अवस्थामा वृद्धवृद्धाको स्याहारसुसारका लागि विशेष व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो ।

